करुणाको ‘बरण्डामा तिमी’ वाचन



धरानलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेकी भोजपुरकी कवि करुणा राईको एकल कविता वाचन सम्पन्न भएको छ। ‘बरण्डामा तिमी’ शीर्षकमा आयोजित एकल कविता वाचन कार्यक्रममा करुणाले आफ्ना १० थान चर्चित कविता पस्किेकी थिइन्।

‘जुत्ता’ शीर्षक कविताबाट वाचन आरम्भ गरेकी उनले ‘आमा’, ‘दाइजो’, ‘अस्पतालमा आप्पा’, ‘भ्रम’, ‘आँसु’, ‘घाइते सम्झना’ सुनाइएर दर्र्शक तथा स्रोतालाई भावुक, नोस्टालजिक र गम्भीर बनाइन्।

उनलाई कवि चन्द्र रानाहँछाले ‘मैले रित्याएको मलाई’ र रेडियोकर्मी सुष्मा राईले ‘याद’ शीर्षकको कविता वाचन गरी सघाएका थिए।
स्थापित कवि, गीतकार, कलाकार र सञ्चारकर्मीलगायत काव्य अनुरागीको उल्लेख्य उपस्थितिबीच सम्पन्न कार्यक्रमको अन्तिममा सुदीप पाख्रिनको परिकल्पना तथा वीरेन सुब्बाद्वारा निर्देशित करुणाको ‘बरण्डामा तिमी’ शीर्षक कवितामाथि निर्मित काव्य भिडियो प्रदर्शन गरिएको थियो।

युनिक फोटोग्राफी धरानको प्रस्तुति रहेको काव्य भिडियोमा सन्तोष थेबे र जीना तामाङले अभिनय गरेका छन्। उक्त काव्य भिडियो कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो।

कार्यक्रममा कविहरू भूपाल राई, डा. विप्लव ढकाल, प्राज्ञ शशी लुमुम्बू र टीका चाम्लिङले करुणा राईको कवितामाथि समीक्षात्मक मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा भूपाल राईले करुणाका कविता परिपक्वताले पूर्ण भएको बताए।

विप्लव ढकालले चाहिँ करुणाका कविता दुई÷चारओटा कविता लेखेर रातारात सेलिब्रेटी हुनेका तुलनामा कैयौं गुना अब्बल रहेको दाबी गरे। कार्यक्रम नेपाली वाङ्मय परिषद् र गोर्खा बुक्सले आयोजना गरेको थियो।

सानैदेखि गायन, नृत्य, अभिनय र साहित्य लेखनमा लागेकी करुणाका केही फुटकर कविता प्रकाशित छन्। उनको ‘मन फुलेको बेला’ गजलकृति प्रकाशित छ भने राजु सिंहको सङ्गीत र आभा मुकारुङको स्वरमा एउटा गीत रेकर्ड भएको छ।

प्रतिक्रिया दिनुहोस्