भारतीय अपराधीमाथि गोली प्रहार



सञ्जय कार्की, रौतहट।

रौतहट प्रहरीले गोली प्रहारबाट सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय नागरिक पक्राउ गरेको छ।प्रहरीको गोली प्रहारबाट घाइते भएका भारत मोतिहारी जतौलिया ग्राम पञ्चायतका शेख चाँद अली पक्राउ परेका हुन्।

उनले कथित मधेसी नेसनल पार्टीको नामबाट संगठन चलाउँदै नेपाली नागरिकसंग चन्दा असुल्ने कार्यमा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ ।

भारतबाट रौतहट आउँदै गरेको सूचना पाएर पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदीको बाँधमा फायर खोलेपछि प्रहरीको जवाफी फायरमा उनी पक्राउ परेका हुन्।

घाइते भएका अलीको उपचार गौर अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घाइते अलीको दाहिने खुट्टामा गोली लागेको छ। प्रहरी उपरीक्षक रविराज खड्काले पक्राउ परेका अलीमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय रौतहटमा पक्राउ परेका अलीविरुद्ध यसअघि संगठित अपराध र अपराधिक लाभ लिन बिस्फोटक पदार्थसमेतको प्रयोगसम्बन्धी तीन वटा र संगठित अपराध र अपराधिक लाभ (फिरौती असुली) गरी चारवटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको थियो ।

पक्राउ परेका अलीको साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान, खाली खोका एक थान, कटुवा पेस्तोलमा लोड भएको अवस्थामा एक थान गोली बरामद भएको जनाइएको छ।

पक्राउ परेका अलीको समूहले गएको पुस ८ गते ईशनाथ नगरपालिकाको कार्यालयमा बम राखेको, गएको पुस ६ गते ईशनाथ नगरपालिका–६ स्थित रामअबध सिंहको मदिरा पसलमा बम राखेको, मंसिर २१ गते राजपुर नगरपालिका–७ स्थित चौधरी इँट्टाभट्टामा प्रेसर कुकर बम राखेको प्रहरीले दाबी गरेको छ ।दर्जनौ व्यक्ति, कर्मचारी, संघसंस्था, जनप्रतिनिधिसंग चन्दा माग गरेको आरोपसमेत उनीमाथि रहेको छ।

प्रतिक्रिया दिनुहोस्