नेकपामा दुई पूर्व



पूर्व एमाले र पूर्व माओवादी– कुल दुई पूर्व। एमाले र माओवादी केन्द्र नभनांै, नेकपा भनौं भन्यो, फेरि उही पूर्व। हिजो दिनभर धरहराअगाडि रहेको राष्ट्रिय सभागृह नामको घरमा यस्तै पूर्वेली देखिए।

धरहरा दंग पर्यो– ‘पार्टीको एकीकरण हुनु त यस्तो पो।’पार्टी एकीकरण भएको २१ महिना बित्यो भन्दैमा विगतको इतिहास त बिर्सन सकिन्न नि।

सभामुखदेखि मन्त्री बाँडफाँडमा पूर्व खोजिने भएसी सभागृहमा मात्र किन खोज्ने? पार्टीभित्रको सबै तह र तप्कामा भागबन्डा गर्ने क्रम जो छ, समावेशी अभ्यासको एक शैलीका रूपमा छ।

यसलाई बिर्सन कसरी सकिन्छ? जम्बो केन्द्रीय समिति बनेर होला बैठकमा एकले अर्कोलाई नचिन्नेसम्मको अवस्था सृजना भएको धराहराले ठ्क्याकै भेटायो भन्या।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले अर्का केन्द्रीय सदस्यलाई सोधे– ‘तपार्इं पनि केन्द्रीय सदस्य हो?’ उनले प्रतिप्रश्न गरे– ‘अँ साँच्चि तपाईं पनि केन्द्रीय सदस्य होइन त?’ बैठक भएकै कारण चिनचान हुन पायौं भन्दै दुवै खुसीले गदगद भए।

धरहराले बैठकमा यस्ता धेरै रोचक दृश्य कैद गर्यो। पार्टी एकता भएको लामो समयपछि बसेको बैठक कुनै मेलाभन्दा कम देखिएको थिएन। यस्तो मेलामा ‘पूर्व’ स्थापित भएकामा धरहरा गदगद छ।

प्रतिक्रिया दिनुहोस्