देशका सपुत अमर शहीदका योगदान



डिल्लीराम मिश्र

अन्ततोगत्वा, विषयगतरूपमा शहीद भनेको कसैलाई मार्न खोज्ने प्राणी हैन, परन्तु आस्था र विश्वासको खातिर स्वयंले मृत्युवरण गर्न चाहेको मानिस हो। यस्ता व्यक्तिहरू लाखौंमा एक पाउन पनि कठिन पर्दछ। शहीद भनेको साझा हो।

उसको आस्था, विचार र कार्यको आधारमा अमर शहीदहरूले सम्मान एवं स्थान पाउनुपर्दछ। शहीद शब्दको उत्पति, प्रयोग, अर्थ, परिभाषा र आदर्शका बारेमा सूक्ष्म र व्यापक विचार, अन्तरक्रिया एवं अध्ययन अन्वेषण हुनु अति जरुरी छ।

राष्ट्रको शहीद भनेको त्यो सपुत हो, जसले देशहितको खातिर वा सही आस्था र विश्वासको निमित्त सङ्घर्ष गर्दा सत्ताद्वारा कुनै प्रकारले मारिएको हुनुपर्छ। के डाँका र हत्याराहरूद्वारा मारिएका कुनै पनि नागरिक शहीद हुन सक्छन् ? कुनै कारणबाट सरकार, प्रतिपक्ष र अन्य भिडन्तमा मारिएका जति सबैलाई शहीद भन्ने हो भने वास्तविक शहीदको परिभाषा के ?

वि.सं. १९९७ मा मारिएका चारजना अमर शहीदहरू यसै कोटिमा पर्छन्। नेपाल प्रजापरिषद्को नेतृत्वमा मारिएकाहरूलाई शहीदको रूपमा स्वीकार गर्न कुनै विवाद नै छैन। यी शहीदहरू सबैका लागि सर्वमान्य, प्रेरक र सर्वप्रिय पनि छन्।

देश राष्ट्र र आफ्नो स्वाभिमानको हेतु निरङ्कुश राणा शासकहरूको सामु आजीवन कायरताको भिख नमाग्ने नेपाली आमाका यी वीर सपुतहरू दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नेपाली समाजका आभूषण हुन्।

राणाशासकका सामु माफी मागेको भए शायद उनीहरूले मृत्युवरण गर्नुपर्ने थिएन। किनभने इतिहास निर्माणमा शहीद शब्द महान् हो, तर विश्वमा नेपाल मात्र एउटा यस्तो देश हो जहाँ शहीदहरूका उद्देश्य र सपना आज पूरा हुन सकिरहेको छैन।

राज्य सञ्चालनका क्रममा नेतृत्व गर्ने वर्गहरूको विवेकहीनता र चरम निजी स्वार्थका कारण आज देशमा परिवर्तन ल्याउने शहीदहरू सधैँ उपेक्षित रहँदै आएका छन्। आजसम्म पनि शहीदका परिवारहरूको अवस्था उस्तै पीडादायी नै रहेको छ।

राष्ट्रवादी शासक जङ्गबहादुर कुँवरको उदयअघि आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको क्षमतावान् नेतृत्वमा नेपाल एकीकरण अभियानयात्रामा धेरै देशभक्त वीर सपुतहरूले ज्यान गुमाएका छन्।

वि.सं. १८०० मा प्रारम्भ भएको नेपाल एकीकरणको प्रथम कालखण्डदेखि झन्डै चार दशकको कठिन यात्रामा सयौं वीर सपुतहरूले राष्ट्रका खातिर जीवन बलिदान गर्नुपरेको थियो।

सिङ्गो राष्ट्रनिर्माण गर्ने दरो भिजन, सड्कल्प र उद्देश्यसहित अगाडि बढेको नेपाल एकीकरण अभियानयात्रामा पृथ्वीनारायण शाहको नेतृत्वमा वि.सं. १८१४ को कीर्तिपुर लडाइँमा अदम्य साहस र वीरताका प्रतीक काजी कालु पाण्डेजस्ता सपुतले ४४ वर्षको उमेरमैवीरगति प्राप्त गरेका थिए। आज शहीदको सम्झना गर्दा उनी पनि उच्च कोटिका शहीदमा पर्छन्।

गोर्खाली सेनासहित बल्खुको किनारमा कालु पाण्डेले काटिएर ज्यान गुमाउनुपर्यो भने उनीसँगै कयौं देशभक्त योद्धाहरूले ज्यान गुमाएका थिए। त्यसैले राष्ट्रनिर्माणका क्रममा वीर पुर्खाहरूका बलिदानीपूर्ण भावनाको माध्यमद्वारा नेपाली समाजलाई समयको प्रवाह र जनताको चाहनाअनुरूप अगाडि बढ्नको निमित्त यो राष्ट्रका यी महान् वीर सपुतहरूले पुर्याएको योगदानलाई पनि यतिखेर बिर्सन सकिन्न।

देश र जनताको स्वाभिमान तथा प्रजातन्त्रका खातिर अहिले पनि प्रेरणाका स्रोत मानिने सपुत लखन थापा र उनका कर्मठ सहयोगीहरू मारिएको पनि आज १४४ वर्ष भैसकेको छ। यसबीच राज्यशक्तिमा धेरै परिवर्तनहरू भए।

राणाशासन, प्रजातन्त्र, पञ्चायत, पुनः संसदीय प्रजातन्त्र हुँदै २०६२–६३ को जनआन्दोलनद्वारा मुलुक विधिवत् लोकतान्त्रिक सङ्घीय गणतन्त्रमा प्रवेश गरेको छ। मुलुक यहाँसम्म आइपुग्दा पनि अदम्य साहस र वीरताका प्रतीक हाम्रा आदर्श शहीदहरूले देखाएको मार्ग त्याग, सङ्घर्ष र बलिदानको अलिकति पनि सम्मान हुन सकेको छैन।

आज देशमा शहीद भन्ने शब्द उद्योगको रूपमा दिन–प्रतिदिन मौलाउँदै गएको छ, जसबाट वास्तविक योगदान गर्ने शहीदहरूको घोर अपमान भएको छ। यस क्रममा १९९७ सालको काण्डमामारिएका शहीदको नाम लिँदामात्र पनि एकातिर आङसिरिङ्ग हुन्छ भने अर्कोतर्फ गौरवशाली उत्साह प्राप्त भइरहन्छ, तर देश र जनताको निमित्त प्राणको आहूति दिने तिनै वीर सपुतहरूले देखाएको बाटोमा नेपाली जनताले आत्मगौरवका साथ सुख र सन्तोषको अनुभूतिसमेत गर्न नपाउनु शहीदले गरेको योगदानप्रतिको घोर अपमान हो।

शहीदका बारेमा यथेष्ट र स्पष्ट परिभाषा, अवधारणा र मजबुत दृष्टिकोण आउन नसकेको वर्तमान अवस्थामा जसले जसरी परिभाषासित गरे पनि अमर शहीद र शहीद परिवारका सदस्यहरूको सम्मान राष्ट्रले गर्न नसक्नु अर्को विडम्बना हो। त्यसैले यस कालखण्डमा कहिले हुने शहीदको सही रूपमा सम्मान र पहिचान ?

नेपाली जनता र राजाबीच सन्तुलित भएर रहेको नेपालको राज्यशक्तिलाई १९०३ सालको कोतपर्वबाट जहानियाँ शासनमा प्रवेश गराएर जङ्गबहादुर कुँवरले देशमा एकतन्त्रीय शासन चलाए। यही विन्दुबाट नै नेपाली जनताले जहानियाँ शासनको विरोधमा प्रजातान्त्रिक आन्दोलन प्रारम्भ गरेका हुन्।

नेपालको इतिहासमा आजसम्म जे–जति पनि लोकतान्त्रिक आन्दोलन, जनसङ्घर्ष र जनक्रान्तिहरू भए ती सबैको जग नेपालका अमर शहीद लखन थापाले वि.सं. १९२७मा प्रारम्भ गरेको नेतृत्वदायी जनविद्रोह नै हो।

जङ्गबहादुरले नेपाल बिगार्यो, दुनियाँलाई त्राही–त्राही पारिरहेछ, जातपात–छुवाछूत झन् चर्काएको छ, जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ, नेपालमा सत्ययुग फिराऊँ लौ भाइ हो तयार हौऔं भन्दै १९२७ सालमा राणा शासनको विरुद्ध सङ्गठित रूपमा गोर्खामा पहिलोपटक विद्रोहको झन्डा उठाउने क्रान्तिकारी योद्धा लखन थापा नै हुन्। उनले जनविद्रोहलाई माध्यम बनाएर गोरखाका गाउँ–गाउँबाट जङ्गबहादुरको शासनलाई खुला चुनौती दिएका थिए।

नेपालको प्रजातान्त्रिक जनसङ्घर्षमा नेपाली माटो धेरै अमर शहीदहरूका रगत–पसिनाले भिजेको छ र त्यसैले वन्दनीय पनि छ। नेपाली प्रजातान्त्रिक जनसङ्घर्षको निमित्त जहाँनिया शासनको नेतृत्वमा जङ्गबहादुरद्वारा जन्मेको कोतपर्वप्रति विरोध र विद्रोह गरिरहने क्रममा एक अति उत्साहित युवक लखन थापामगरले केही युवकहरूलाई साथमा लिई सामूहिकरूपमा खुलेआम जङ्गबहादुरको शासनको विरोध गर्दै गोर्खाका गाउँ–गाउँमा घुमेका थिए। यो कुरा जङ्गबहादुरलाई कदापि स्वीकार हुनसकेन।

फलस्वरूप जङ्गबहादुरकै आदेशअनुसार लखन थापासहित उनका सहकर्मीहरूलाई पक्राउ गरियो। यसरी पक्राउ परेका लखन थापालगायत सातजनालाई उनकै आदेशअनुसार गोर्खाको मनकामनामा वि.सं. १९३३ फागुनमा झुन्ड्याएर प्राणदण्ड दिइयो भने अरूलाई सोधपुछ गरी छोडियो।

त्यसैले पनि नेपालको प्रजातान्त्रिक जनसङ्घर्षमा निरङ्कुश शासकको विरोधमा लड्ने वीर सपुत लखन थापा इतिहासकै प्रथम अमर शहीद हुन्। शहीद दिवसका अवसरमा प्रत्येक वर्ष सम्मान गर्नुपर्ने कोटिका शहीद लखन थापाको पनि १९९७ सालमा मारिएका वीर सपुतहरूको शृङ्खलामा राखेर नेपाल सरकारले औपचारिकरूपमा शहीद घोषणा गरी सार्वजनिक बिदासहित राष्ट्रिय सम्मान गर्नु सबैको साझा दायित्व हो।

केही वर्षअघि मात्र नेपाल सरकारले लखन थापालाई नेपालका प्रथम शहीद भनेर औपचारिकरूपमा घोषणा गरेको छ। राष्ट्रको शहीद भनेको त्यो सपुत हो, जसले देशहितको खातिर वा सही आस्था र विश्वासको निमित्त सङ्घर्ष गर्दा सत्ताद्वारा कुनै प्रकारले मारिएको हुनुपर्छ।

के डाँका र हत्याराहरूद्वारा मारिएका कुनै पनि नागरिक शहीद हुन सक्छन् ? कुनै कारणबाट सरकार, प्रतिपक्ष र अन्य भिडन्तमा मारिएका जति सबैलाई शहीद भन्ने हो भने वास्तविक शहीदको परिभाषा के ?आदिका बारेमा पनि प्रश्न उठ्न सक्छ।

शहीदको परिभाषा सबैका लागि सर्वप्रिय र सर्वमान्यरूपमा निरूपण गरिएको हुनुपर्दछ, जो–कोही पनि आस्थाको आधारमा शहीद भएको हो वा आकस्मिकरूपले मारिएकोमा शहीद बनाइएको हो वा घोषणा गरिएको हो, यसलाई सत्यतथ्यको आधारमा सार्वजनिक गर्नु समाज र राष्ट्रको लागि उत्तम सन्देश हो। त्यसैले बलिदानीपूर्ण इतिहासका स्मरणीय हाम्रा वीर सपुत शहीदहरूलाई यही गौरवमय शृङ्खलामा राखेर हेरिनु अपरिहार्य छ।

 

प्रतिक्रिया दिनुहोस्