कोरोना कहर



कोरोना भाइरसको कहर निकै बोझिलो बन्दै आएको छ। छिमेकी मुलुक चीनको वुआन शहरबाट संक्रमण फैलिएको कोरोना भाइरसले यति बेला विश्वलाई तरंगित पारेको छ।

एक जना संक्रमित बिरामीबाट तुरुन्तै तीन जनासम्मलाई थप संक्रमित पार्न सक्ने जोखिमले गर्दा यो बढी नै खतरापूर्ण रहेको बुझ्न सकिन्छ। यसको जोखिमलाई कम ठान्न मिल्दैन। चीनजस्तो विश्वमा उदयमान शक्ति राष्ट्रलाई समेत नियन्त्रण गर्न हम्मे–हम्मे पार्ने भाइरससँग नेपाली डराउनु अस्वभाविक होइन।

चीनमा मात्र बुधबारसम्म १ सय ३२ जनाको यस भाइरसले ज्यान लिइसकेको र ५ हजार ९ सय ७४ जना संक्रमित देखिएको चिनियाँ अधिकारीले पुष्टि गरेका छन्।

कोरोना भाइरस लागेको कसरी थाहा पाउने भन्ने सन्दर्भ अहिले आम नागरिकका लागि प्राथमिकताको विषय हो। चिकित्सकहरूका अनुसार यसले सर्वप्रथम नाक र घाँटीको माथिल्लो भाग वा च्यापुमा असर गर्छ। अधिकांश कोरोना भाइरस खतरनाक भए पनि केही खतरनाक भाइरसले नै व्यक्तिलाई हायलकायल पार्ने अवस्था छ।

२०६९ सालमा यही खतरनाक भाइरसका कारण ८ सय ५८ व्यक्तिले मध्यपूर्वमा ज्यान गुमाए। साउदी अरेबियाबाट फैलिएको यो भाइरसले विस्तारै छिमेकी मुलुकलाई पनि आक्रान्त बनायो। अहिले चीन र विश्वका अन्य राष्ट्रमा यसले महामारीको रूप लिएको छ।

डिसेम्बर महिनामै पहिचान भइसकेको भाइरसको समयमै नियन्त्रण गर्नमा चासो नदेखाउँदा यसको संक्रमण विश्वभर फैलँदो क्रममा छ। नेपालमा चीनबाट आएका तीन जना नेपालीलाई संक्रमणको आशंका गरे पनि उनीहरू उपचारपछि घर फर्किसकेको अवस्था छ।

तर पनि जोखिम अझै टरेको छैन। छिमेकी मुलुक त्यसमाथि चीनबाट आउने पर्यटक, व्यवसायी र नेपाली व्यवसायीलगायत चीनको बाटो हुँदै नेपाल भित्रिने संक्रमित यात्रुबाट नेपाल बढी नै जोखिममा रहेको छ।

सरकार प्रमुखलगायतले रोगको संक्रमण फैलन नदिन सरकार क्रियाशील रहेको भन्दै आए पनि व्यवहारमै यसका लागि पूर्वाधारलाई थप गर्ने, ल्याब स्थापना गर्नेलगायत तयारी अवस्थामा रहनु उचित देखिन्छ।

किनकि सामान्य रोग ठानेर बेवास्ता गरेको एक महिनापछि विश्वभर यस रोगको संक्रमणले भयावह रूप लिएको दृष्टान्तलाई समेत हामीले भुल्नु हुँदैन। हेल्थ डेस्क राखेर सामान्य स्वास्थ्य परीक्षण गरेपछि संकास्पदलाई तुरुन्त उपचारको व्यवस्था गर्नु जरुरी छ।

सरकारले संक्रमण फैलिएमा उपचारका लागि तयारी अवस्थामा रहन उपत्यकाका विभिन्न अस्पताललाई निर्देशन दिए पनि ती अस्पतालहरूमा उपचारका लागि उपयुक्त पूर्वाधारसमेत नरहेको कुरा बाहिर आइरहेको छ।

यस रोगको उपचारका लागि केही अस्पतालमा सीमित मात्रामा व्यवस्था रहे पनि त्यो अपुग नै देखिन्छ। यसमा सरकार गम्भीर भएर लाग्नु उचित हुन्छ।

रोग लागेर उपचारमा भौतारिनुभन्दा रोग लाग्न नदिनु उत्तम भनेजस्तै रोगको जीवाणु भित्रनै नदिनेतिर नेपालको संयन्त्र लाग्नुपर्ने हुन्छ। हवाईमार्गतिर केन्द्रित देखिएको सक्रियता स्थलमार्ग हुँदै भित्रिने नाकाहरूमा समेत विस्तार गर्नु जरुरी छ।

हवाईमार्गसँगै विभिन्न स्थलमार्ग हुँदै नेपालमा लाखौं चिनियाँलगायत विभिन्न राष्ट्रका नागरिक नेपाल भित्रिन्छन्। यसमा विशेष चनाखो हुनु अपरिहार्य भएको छ।

 

प्रतिक्रिया दिनुहोस्