बनेपा ‘मेयर कप’ उपाधी वडा नं. ६ लाई



मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिकाको आयोजनामा दोस्रो मेयर कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०७६ को उपाधी वडा नम्वर ६ ले प्राप्त गरेको छ । फाईनल चरणमा वडा नम्वर ९ लाई १ का विरुद्ध ३ गोल गर्दै वडा नम्वर ६ ले उपाधी प्राप्त गरेको हो ।

वडा नम्वर ६ का तर्फबाट राजपाल केसी १५ मिनेट र २३ मिनेटमा दुई गोल गरे भने रोज लामाले ६७ मिनेटमा अर्काे गोल गरी टिमलाई विजयी गराए । वडा नम्वर ९ का रविन थापाले एक गोल गरे । प्रतियोगितामा प्रथम हुने वडा नम्वर ६ को टिमले नगद ६० हजार प्राप्त गरेको छ भने दोस्रो हुने टिमले ४० हजार नगद प्राप्त गरेको छ । शिल्ड, प्रमाणपत्र सहित उत्कृष्ट खेलाडी सहितका विद्याहरुमा पुरस्कार वितरण गरिएको थियो ।

नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेले विजेता र उप विजेतालाई पुरस्कार वितरण गर्दै खेललाई मर्यादित, अनुशाशित बनाई क्षमता प्रदर्शन गरेकोमा बधाई दिनु भएको थियो । बादेले स्वास्थ्यको लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नारालाई आत्मसात गर्र्र्दै नगरपालिकाले फुटबल खेलको आयोजना गरेको बताउनु भयो । जनप्रतिनीधिहरु निर्वाचित भए सँगै नगरमा युवाहरुका लागी मानव जीवनलाई गति दिने र युवाहरुलाई खेलहरु प्रती जागरुक गराउन खेलको आयोजना गरिएको नगर प्रमुख बादेले बताउनु भयो । ‘खेलले अनुशासित, जागरुक, स्वस्थ्य, स्वाभिमानी बनाउँछ’– नगर प्रमुख बादेले भन्नु भयो–‘सबै नागरीकहरुले खेल खेल्नु पर्छ, खेलले मानसिक रुपमा समेत स्वास्थ्य बनाउँछ, स्वास्थ्य मानिसले कुनै पनि काममा सफलता पाँउछ । हरेक नागरिकलाई अनिवार्य खेलकुद आबश्यक छ ।’

उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले खेलको माध्यमबाट नागरिकहरुको स्वास्थ्य सहितको भातृत्व कायम राख्न मेयर कप शुरु गरेको बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष तथा खेल संयोजन समितिका संयोजक गौरी राउतले सबै खेलाडीहरुले अनुशासित भएर खेलेकोले प्रतियोगिता सफल भएको बताउनु भयो । खेलमा नगरका १४ वटा वडाबाट १६ टिम सहभागी भएका थिए । प्रतियोगिता समापन कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मोहन पौड्याल, नगरपालिका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीहरु, काभ्रे जिल्ला फुटबल सघंका अध्यक्ष विकास श्रेष्ठ, नेपाल प्रहरी विद्यालयका समादेशक श्रीराम भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्