भरतको गोलमा आर्मी विजयी



नेपाल समाचारपत्र, काठमाडौं।

कप्तान भरत खवासको निर्णायक गोलसँगै त्रिभुवन आर्मी क्लबले जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा जित हात पारेको छ।मंगलबार दशरथ रंगशालामा भएको नवौं चरणको खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई १–० ले हराएको हो। जावलाखेलसँग गोलरहित बराबरीतिर अग्रसर भइरहेको स्थितिमा भरतले आर्मीलाई जित दिलाएका हुन्।

उनले खेलको ७५औं मिनेटमा दायाँ विंगबाट कठीन तरिकाले गरेको प्रहार गोल हुन पुगेको थियो। यसपछि गोल नहुँदा आर्मीले स्पष्ट ३ अंक जोड्न पनि सफल भएको थियो।योसँगैं आर्मीले ९ खेलमा छैटौं जित पनि हासिल गरेको छ।

टोली अंक तालिकामा पुनः शीर्षस्थानमा उक्लिएको छ। मछिन्द्रभन्दा एक अंकले अगाडि रहेको आर्मीको २० अंक बनेको छ। यस्तै हारपछि जावलाखेल १२ अंकसहित सातौं स्थानमा छ।

सरस्वतीको पहिलो जित

मंगलबारकै खेलमा पुछारको सरस्वती युवा क्लबले जारी लिगमा पहिलो जित प्राप्त गरेको छ। सरस्वतीले नवौं खेलमा आएर जित हात पार्दा हिमालयन शेर्पा क्लबलाई शिकार बनाएको हो। टोलीले हिमालयनविरुद्ध ४–३ को रोमाञ्चक जित हासिल गरेको थियो।

योसँगैं सरस्वतीले ४ अंक जोडेको छ र पुछारमै (१४औं स्थान) रहन बाध्य भएको छ। हारपछि हिमालयन ७ अंकसहित १२औं स्थानमा यथावत रह्यो।
सरस्वतीका लागि काजिम बुखारीले खेलको पाँचौं मिनेटमै अग्रता दिलाएका थिए। काजिमले पूर्णबहादुर श्रेष्ठको सानदार क्रसमा गोल गरेका थिए।

यसको ५ मिनेटपछि हिमालयनका आशिष गुरुङले गोल फर्काएर खेल १–१ बराबरीमा ल्याएका थिए। विनोद केसीले ३५औं मिनेटमा काजिमको पासमा क्लोज रेन्जमा गोल गरेपछि सरस्वतीले २–१ को अग्रता लिएको थियो। तर यो अग्रतालाई हिमालयनका विजय श्रेष्ठले गोल गरेर रद्द गरिदिएका थिए।

सो गोलसँगैं पहिलो हाफ २–२ बराबरीमा सकिएको थियो। खेल यही स्कोरमा समाप्त हुने संकेत देखिएको थियो। तर अन्तिम १० मिनेट निकै रोमाञ्चक बनेको थियो। सरस्वतीका लागि काजिमले ८३औं मिनेटमा र ८८औं मिनेटमा मनिष थापाले गोल गर्दै जारी लिगमा पहिलो जित सुनिश्चित बनाएका थिए। यद्दपि इन्जुरी समयमा हिमालयनका लागि रवि थापामगरले गोल फर्काए पनि त्यो सरस्वतीलाई जितबाट रोक्न पर्याप्त भएन।

सरस्वतीको जितले जारी लिगमा कुन टोली रेलिगेसनमा पर्ने होड चल्ने संकेत देखाएको छ। यसअघि आठौं चरणसम्म सरस्वती १ अंक लिएर पुछारमा रहँदा यसभन्दा अगाडि रहेका एपीएफ र हिमालयन शेर्पा धुक्क थिए।

तर नवौं चरणमा आएर एपीएफ र हिमालयन शेर्पाले जित हात पार्न नसक्दा सरस्वतीको जितले यी दुबै टोलीलाई अप्ठ्यारोमा पार्ने सम्भावना बढेको छ। अंकतालिकामा पुछारको टोली सरस्वती (४ अंक) भन्दा एपीएफ १ अंक र हिमालयन ३ अंकले माथि रहेका छन्।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्