नेका सही बाटोमा



पुरानो लोकतान्त्रिक पार्टी नेकाबाट जति पाठ सिके पनि धरहराले सिकी नभ्याउने भयो। सोमबार पार्टी कार्यालयमा नेविसंघका युवाहरुले एक–आपसमा मुक्कामुक्की गरेर र उनीहरुको दलका पाका नेताहरुले आ–आफ्ना युवालाई काखी च्यापेर जुन ऐतिहासिक सफलता देखाए, त्यसबाट कति पाठ सिक्ने’ अहिले त धरहरालाई यस्तो लाग्न थाल्यो, बहत्तर सालमा भूकम्पले नढालेको भए अहिले यो नेकाबाट पाठ सिक्दासिक्दै बोझले ढल्नेरहेछ।’

रामचन्द्र पौडेल र कृष्ण सिटौलाजस्ता प्रभावशाली नेताको पछाडि लागेर युवा कुन्दनराज काफ्ले, नवराज त्रिपाठीलगायत ‘३२ वर्षे उमेरको सीमा लागू गर, बूढा नेतालाई नेविसंघमा नहुल’ भन्ने माग राख्दै एक महिनाअघिदेखि पार्टी कार्यालयमा धर्ना दिए।

उता सभापति शेरबहादुर देउवा दिउँसोतिर मनोज वैद्यलगायतका आफ्ना युवा समर्थक लिएर पार्टी कार्यालयमा प्रवेश गर्दै थिए। नेताहरु देउवा र पौडेलले हात ठड्याएर बाँकी रहेका सबै दाँत देखाएर सहमति भएको जानकारी दिँदै तस्वीर खिचाइसकेको जानकारी नभएर हुन सक्छ– दुवै पक्षका युवाहरु ढोकैमा कुटाकुट गर्न थालिहाले।

पौडेल र सिटौला नै ५० माथिका व्यक्तिलाई समेत नेविसंघको सदस्य बनाउन सहमत भएको पिट्ने र पिटिनेले पत्तै पाएनन्। वास्तवमा, पहिला–पहिला सडकमा आन्दोलन हुन्थ्यो, प्रहरीले पिट्थ्यो, तर अहिले त्यस्ता दृश्यहरु देखिँदैनन्।

तर पिट्ने र पिटिने प्रचलन हट्यो भने भोलि परेको बेला कसरी परम्परा जोगाउने ? यही मर्म बुझेर नेताहरुको निगरानीमा युवाहरु एक–आपसमा भिडे। यसले नेका सही बाटोमा लागेर सबैलाई पाठ सिकाइरहेको पुष्टि हुन्न र ?

प्रतिक्रिया दिनुहोस्