बाह्रबिसेमा जुट्यो सहमति,नाला छाडेर ४ फिटको फुटपाथ कायम गरिने



नानीराम नेपाल,सिन्धुपाल्चोक।

बजार व्यवस्थापनका विषयमा बाह्रबिसे नगरपालिकामा उत्पन्न गतिरोध अन्त्य भएको छ। निश्चित मापदण्डमा रहेर बजारक्षेत्रमा सडकमै निस्किएका टप, छत र पाली हटाउन स्थानीयवासी राजी भएका छन्। १५ दिनभित्र बजारक्षेत्रमा नाला छाडेर ४ फिटको फुटपाथ निर्माण गर्न स्थानीय सहमत भएका हुन्।

बजारमा घरअगाडि निर्माण भएका अस्थायी संरचना हटाउने सम्बन्धमा मंगलबार बाह्रबिसे नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सडक डिभिजन कार्यालय चरिकोटका प्रतिनिधि र सरोकारवाला सम्मिलित बैठकबाट व्यवस्थित बजार निर्माणको सहमति जुटेको हो।

तत्कालका लागि पक्की घर संरचनाका विषयमा केही नगर्ने तथा फुटपाथका लागि नाला छाडेर ४ फिट कायम गर्ने सहमति भएको छ। नाला छाडेर ४ फिटसम्मको दूरी खाली गर्नुपर्ने र छत, पाली, टपजस्ता संरचना हटाउनुपर्ने निर्णय भएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो।

अबदेखि बाह्रबिसे बजारमा हार्डवेयर सामग्रीका गोदाम राख्न नपाइने भएको छ। मंगलबारको बैठकले बजार क्षेत्रभन्दा बाहिर नै हार्डवयर सामग्रीका गोदाम राख्ने सहमति भएको हो। सडकमा कुनै पनि सामग्री राख्न नपाइने र पसलअगाडि छत र पालीमा राखिएका सामान हटाउने समेत सहमति भएको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनीयर जिय महतो,सुमन बस्नेत, स्थानीय सरोकार समूहका तर्फबाट हरिशरण श्रेष्ठ,नवीन श्रेष्ठ, हेमन्त श्रेष्ठ सहभागी थिए। बैठकमा वडाध्यक्षहरू र सम्बद्ध जनप्रतिनिीधिहरू सहभागी थिए।

सहमति जुटेसँगै स्वच्छ र हराभरा बाह्रविसे बजार निर्माणका लागि ढोका खुलेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो। बजार क्षेत्रमा रहेका छाप्रोहरू हटाउने र छाप्रो बनाएर बस्नेहरूका लागि बजारबाहिर जग्गाको समेत व्यवस्था गरिने मेयर शेर्पाले सुनाउनुभयो।

‘सडकको नाला छाडेर ४ फिटको फुटपाथ निर्माण गर्न बजारवासी सहमत हुनुभयो, पन्ध्र दिनमा नालामा जोडिएका संरचना हटाउने सहमति भयो’, मेयर शेर्पाले भन्नुभयो, ‘स्वच्छ, सुन्दर र व्यवस्थित बाह्रबिसे निर्माणको ढोका अब खुलिसकेको छ।’

स्वागतद्वार निर्माण गरिने

भ्रमण वर्षमा बाह्रबिसे आउने पर्यटकहरूको स्वागतका लागि बजार क्षेत्रमा स्वागतद्वार समेत निर्माण गरिने भएको छ। बाह्रबिसे बजारमा ४ वटा स्वागतद्वार निर्माण गर्न लागिएको मेयर शेर्पाले बताउनुभयो।

‘पर्यटकका क्यामेरामा सुन्दर बाह्रबिसे कैद होस् भन्ने हाम्रो अभिप्राय हो, उहाँले भन्नुभयो ‘बजारक्षेत्रका घरहरूलाई एकै किसिमको रङ लगाउन भनेर थप सुन्दर बनाउँछौं।’ बजार व्यवस्थापनको काम सँगै तत्काल स्वागतद्धार निर्माणको काम अघि बढाइने मेयर शेर्पाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्