अमेरिकामा आगलागी, आठको मृत्यु



न्युयोर्क, (एजेन्सी)।

अमेरिकाको अलावामा राज्यको जलीय क्षेत्रमा सोमवार भएको भीषण आगलागीमा दर्जनौं डुङ्गाहरू नष्ट हुनाका साथै कम्तीमा आठ जना मानिसको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्। स्कोट्सवोरोको ज्याक्सन काउन्टी पार्कमा मानिसहरू सुतिसकेपछि अचानक आगलागी शुरु भएको बताइएको छ।

काठले बनेको बन्दरगाहको एल्मुनियमको छत पनि आगलागीका कारण रुझेको छ भने केही डुङ्गाहरू नदीमा डुबेका छन्।ज्यान जोगाउन पानीमा हाम फालेका सातजना व्यक्तिलाई उद्धार गरी उपचारार्थ अस्पतालमा पुर्याइएको छ। आगलागी हुनाका कारण पत्ता लाग्न सकेको छैन।

उद्धार टोलीले अन्य कोही अझै पानीभित्र छन् कि भनेर खोजी कार्य जारी राखेका छन्।स्थानीय समयअनुसार राति १२ बजेर ४० मिनेट जाँदा टेन्नेसे नदीको किनारमा यसरी आगो लाग्दा ३५ वटा डुङ्गा जलेर नष्ट भएको हो। अहिलेसम्म प्रहरीले मृतकको परिचय खुलाएको छैन।

प्रत्यक्षदर्शीहरूले ती डुङ्गाहरूमा प्रोपेन ग्यास र तेलका टैङ्करहरू पनि भएकले आगालागी नियन्त्रणभन्दा बाहिर गएको हुनुपर्ने अनुमान गरेका छन्। अधिकांश स्थायी रूपमा त्यहीँ बसोबास गर्नेहरूका डुङ्गाहरू जलेर नष्ट भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्