अन्टार्कटिकाको हिमतालमा पौडी खेलेर कीर्तिमान



लन्डन, (एजेन्सी)।

बेलायतका लेविस प्युग अन्टार्कटिका स्थित आइससीट (बरफको पत्र)को तल पौडी खेल्ने विश्वकै पहिलो एथलिट बनेका छन्। ५० बर्षीय लेविसले पौडी खेल्ने क्रममा स्विमिङ अडरगार्मेन्ट, एक टोपी र चस्मा लगाएका थिए।

उनी १० मिनेटसम्म सुप्रा हिमखण्ड तालको पानीमा सेफ गार्डको उपस्थितिमा २ दशमलव २ वर्गमिटर क्षेत्रमा पौडी खेलेका थिए। यसमा रोस सागर पनि पर्छ, जसमा सन् २०१५ मा पौडी खेलेपछि एक जल संरक्षण क्षेत्र घोषित गरिएको थियो।

लेविस आइससीट मुनि पौडिरहँदा त्यहाँको तापमान फ्रिजिङ प्वाइन्टको नजिक थियो। आफूले यो काम कुनै उपलब्धिका लागि नगरेको प्रष्ट पार्दै मानिसहरूको ध्यान जलवायु परिवर्तनतर्फ आकर्षित गर्नका लागि गरेको उनले बताए।

अन्टार्कटिकाको हिमपत्रमुनि पौडिने प्युगको यात्रा अहिले शुरु भएको सञ्चार माध्यमहरूले उल्लेख गरेको छ। उनको अर्को प्रयास भनेको सुप्रा हिमतालको हिमपत्रमुनि पौडेर पार गर्ने पहिलो व्यक्ति बन्ने हो। डरहम युनिभर्सिटीको एक अध्ययनअनुसार पूर्वी अन्टार्कटिकामा ६५ हजार सुप्रा हिमताल छन्। यसको निर्माण हिउँ पग्लेर भएको हो।

लेविसले ट्विटमा लेखेका छन्– म जलवायु परिवर्तनतर्फ मान्छेको ध्यान तान्न चाहन्छु। विश्वभरि हिमखण्ड पग्लिने क्रममा तीव्रता आइरहेको छ। त्यसैले मैले अन्टार्कटिकाको हिमपत्रमुनि पौडिने निश्चय गरेँ।

उनले एउटा पोस्ट इन्स्टाग्राममा पनि अपलोड गरेका छन्। यसमा उनले पौडिने क्रममा केही अत्यन्तै राम्रो र केही डरलाग्दो अनुभव साझा गरेका छन्। उनले लेखे– जब म पौडिन पानीभित्र गएँ , चारैतिर पानी निलो रंगको देखिइरहेको थियो।

केही समयपछि म त्यस्तो ठाउँमा पुगेँ, जहाँबाट पानी बरफको पत्रमा रहेको चिराबाट गायब भइरहेको लाग्दथ्यो। मलाई लाग्यो, यहाँबाट गएर पानी समुद्रमा मिल्न जान्छ होला। तर यो हिमखण्डमा आएको विचलन थियो। त्यसपछि पानीबाट बाहिर आइयो।

प्रतिक्रिया दिनुहोस्