बीभत्स रूपमा हत्या गरेको अवस्थामा युवाको शव फेला



सरोज यादव, सुनसरी।

सुनसरीको दुहबी–१२ बुगडरीस्थित केशलिया खोला किनारमा एक युवाको शव वीभत्स अवस्थामा भेटिएको छ। विराटनगर महानगरपालिका–४ इक्राही र सुनसरीको दुहवी नगरपालिका–१२ बुगडरी जोड्ने केशलिया खोला पुलको झन्डै ५० मिटर पश्चिमतर्फ वीभत्स तरिकाले हत्या गरेर फालिएको अवस्थामा युवाको नाङ्गो शव फेला परेको छ।

सो ठाँउमा रहेको बाँसको झ्याङ नजिकैको खाडलमा परालले छोपेर पुरिएको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएका छन्। शव पराल र माटोले छोपिएको भए पनि मृतकको पाइताला माटो बाहिर देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। खबरपछि पुगेको सुनसरी प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि लगेको छ। शवको प्रकृति हेर्दा हत्या गरी पुरिएको हुनसक्ने प्रत्यक्षदर्शी विशाल यादवले जानकारी दिनुभयो।

शवको अनुहार कुच्चिएको र नाङ्गो अवस्थामा भेटिएको तथा नजिकै रगतले लत्पतिएको इटट समेत भेटिएको उहाँको भनाइ छ। सो विषयमा जानकारी दिनुहुँदै सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले मृत भेटिएका युवाको नाम, थर र वतन भने खुल्न नसकेको बताउनुभयो। उहाँले मृत भेटिएका युवाको शरीरमा कुनै पनि कपडा नभएको र अनुहार तथा टाउको किच्याएर चिन्नै नसक्ने बनाएको अवस्थामा शव भेटिएको बताउनुभयो।

बाँस झ्याङ नजिकै रहेको घटनास्थलमा वरपर लत्पतिएको रगतका टाटाहरू देखिएको छ। घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको गलबन्दीको टुक्रा समेत फेला परेको एसपी पोखरेलले बताउनुभयो।

हत्या गरेर फालिएका युवाको उमेर अन्दाजी २०÷२५ वर्षजस्तो देखिन्छ। शरीरका केही भाग सड्न लागेको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान गहन ढंगले थालिएको एसपी पोखरेलको भनाइ छ।

हत्या गरिएका युवाको पहिचान नै नभएका कारण घटनामा संलग्नका बारेमा पनि यकिन हुन नसकेको उहाँको भनाइ छ। घटनाको प्रकृति हेर्दा रिसइबीका कारण युवाको हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

केही दिनअघि विराटनगरस्थित सिघिया खोलामा लेखापरीक्षकको शव भेटिएको थियो। शंकास्पद अवस्थामा भेटिएका लेखापरीक्षक प्रबल घिमिरेको मृत्युको कारण प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्