शहरीकरण र भू–उपयोग परिर्वतन सम्बन्धमा नासाको चासो



 चिरञ्जीवी मास्के, दोलखा।

नासाले नेपाल, भारत र भुटानको हिमालय क्षेत्रमा शहरीकरण र भू–उपयोग परिर्वतन तथा जोखिम सम्बन्धमा अध्ययन गरिरहेको छ।

अध्ययनको प्रारम्भमा कम जनसंख्या भएको शहर तथा ग्रामीण क्षेत्रमा समेत तीब्र गतिमा शहरीकरण र सडक निर्माण भइरहेको अध्यन टोलीको नेता येल विश्वविद्यालय अमेरिकाको प्रोफेसर भूगोलशास्त्र तथा शहरीकरण विज्ञान विज्ञ डा.केरेन सि.सेटोले बताउनुभयो।

अध्ययनमा नासाको उद्देश्य शहरीकरणअन्र्तगत सडक र भवन निर्माण तथा हिमालय क्षेत्रमा रहेका जोखिमहरू, त्यसका परिर्वतनलाई स्थानीय दृष्टिकोणले हेर्ने र त्यसरी प्राप्त जानकारीलाई उपग्रहद्वारा भू–उपयोग तथा जोखिमको परिर्वतन बारे विगत ३० वर्षदेखि संकलन गरिएको तथ्याङ्कसँग तुलना गर्नुरहेको अध्यन टोलीको नेता डा. सेटोले बताउनुभयो।

अध्यनमा येल विश्वविद्यालय अमेरिकाको डा.केरेन सी. सेटो र डा. मेरेडिथ रेवा, युनिर्भसिटी अफ ब्रिटिस कोलम्बिया विश्वविद्यालय क्यानाडाका मानव शास्त्री डा. मार्क टुरिन र डा. सारा स्नाईडर म्यान सहभागी रहनुभएको छ। नासाको यो अध्यनमा इसिमोड नेपाल तथा कुमाउ विश्वविद्यालय भारतको समेत संलग्नता रहेको बताइएको छ।

डा.सेटोको टोलीले नेपालको सबै क्षेत्रमा उपग्रह (स्याटालाइट) मार्फत अध्यन गरिरहेको भए पनि दोलखा भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ मा पर्ने चरिकोट बजार र वडा नम्बर १ मा पर्ने सुष्पा क्षमावतीमा भने स्थलगत अध्यन गरिरहेको छ।

त्यसैगरी भारत उत्तराखण्डको नैनीताल, अलमोडा, चम्पावत र भुटानको केही क्षेत्रमा स्थलगत अध्यन गरिरहेको टोलीमा सहभागी मानवशास्त्री डा. सारा स्नाइडर म्यानले बताउनुभयो।

अध्यनको क्रममा हिमालय क्षेत्रमा पर्ने नेपाल, भारत र भुटानको सानो शहर तथा गाउँहरूमा शहरीकरणको क्रम तिब्र देखिएको र यो निक्कै जोखिमयुक्त हुने अध्ययन टोलीको सदस्य डा. मेरेडिथ रेवा बताउनुहुन्छ।

स्थलगत अध्ययनको क्रममा भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले शहरीकरणका कारण प्राकृतिक प्रकोपमा देखिएको उच्च जोखिमको विषयमा कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो।

इन्जिनियर राउतले नासाको अध्यनले शहरीकरणमा जोखिम न्यूनिकरणका लागि अपनाउनुपर्ने विधिको जानकारी हुने र त्यसको प्रयोगमा सबैले चासो दिनुपर्ने अवस्था बन्ने बताउनुभयो।

अध्ययनका लागि नासाको स्याटलाइट प्रयोग गरिएको अध्ययन टोलीको प्रमुख डा. सेटोले बताउनुभयो। अध्ययनमा प्रयोग गरिएको स्याटलाइटले सन् १९७२ देखि नै पृथ्वीको तस्वीर लिइरहेको तर अध्ययनमा १९८३ देखिको तस्वीरको मात्र विश्लेषण गरिएको डा. सेटोले बताउनुभयो। स्याटलाइटले वर्षमा ६ वटासम्म तस्वीर लिने र त्यसैको आधारमा स्थलगत अध्यनसमेत गरेर तथ्याङ्कको विश्लेषण गरिने अध्ययनमा संलग्न अर्का सदस्य डा.मार्क टुरिनले बताउनुभयो।

५० लाखभन्दा कम जनसंख्या भएको शहर तथा हिमालय क्षेत्रमा नासाले गरेको यस्तो अध्ययन पहिलो भएको र यसले जोखिममुक्त शहरी विकास योजना तर्जुमा गर्न सरकार र स्थानीय तहलाई सहज हुने अध्ययनमा संलग्न टोली नेता डा. सेटोले बताउनुभयो।

हिमालय क्षेत्रमा स्याटलाइटले सबै ठाउँको चित्र खिच्न नसक्ने तथ्यलाई समेत यो अध्ययनले देखाउने र त्यसको समाधानका लागि नयाँ प्रविधि विकासमा नासालाई समेत यो अध्ययनले सहयोग पुग्न सक्ने अध्यन टोलीका सदस्यहरूको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्