२१ किलो गाँजासहित पक्राउ



हेटौंडा, (नेस)।

हेटौंडामा प्रहरीले मंगलबार बिहान गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।हेटौंडा–१०, बसपार्क प्रहरी चौकीबाट खटिएको टोलीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसका यात्रीबाट २१ किलो गाँजा बरामद गरेको हो।

ना५ख ४९० नम्बर यात्रुबाहक बस चेक गर्दा बसका यात्री सुनसरीको इटहरी नपा–१५ बस्ने सागर पाण्डे र धादिङको रोराङ नपा–१ बस्ने सोनम तामाङको झोलाबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई लागूऔषध गाँजासहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ।लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम उनीहरूलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म सजाय हुने कानुनी प्रावधान रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्