अढाइ तोला सुनका लागि महिलाको हत्या



लमजुङ, (नेस)।

लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सोमबार बिहान एक महिलाको विभत्स तवरले हत्या गरिएको छ। अढाई तोला सुन र २२ हजार नगदका लागि एक एकल महिलाको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार सुन्दरबजार नगरपालिका–७ को पाउँदी बजारस्थित मस्र्याङ्दी आधारभूत विद्यालयको पछाडि निवासी ६० वर्षीय एकल महिला सीता पोखरेल भुजेलको हत्या गरिएको हो।

मृतकको दायाँ कञ्चटमा बञ्चरो प्रहार गरिएको गहिरो चोट रहेको छ। मृतकको घाँटीमा प्रहार गरिएको बञ्चरो घाँटीमै गडेको तर बिड फुक्लिएको, रगत छरपष्ट भएको र मझेरीभरि मकै छरिएको र उनको रगत लतपत भएको अवस्था देखिएको सोही वडाका अध्यक्ष जयराम रेग्मीले बताउनुभयो।

बृद्धाले कानमा लगाएका करिब अढाई तोलाको सुनका गहनाका साथै दुई दिन अघि मात्र उनले २२ हजार रुपियाँमा एक खसी बिक्री गरेको सुनिएको हो तर ती गहना पैसा केही भेटिएन स्थानीय समाजसेवी भूमिनन्द तिमिल्सेनाले बताउनुभयो।

पोख्रेलले २० वर्षदेखि पाउँदी क्षेत्रमा बसेर बाख्रा पालन व्यवसाय गर्दै आएकी थिइन्। हालसम्म कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान जारी रहेकोे जिल्ला प्रहरी कार्यालयल लमजुङका प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्