व्यावसायिक सफलता : प्राइम बैंकको साथले शिखर शु सफल



भूपराज बस्याल, काठमाडौं।

‘बैंकमा ऋण लिनका लागि कागजपत्र मिल्नुपर्छ। तर, नेपालमा यस्ता बैंक पनि छन्। जसले व्यक्तिको कार्य क्षमता र लगनशीतालाई पनि विश्वास गरेर लगानी गर्ने गर्छन्।’ यो भनाइ नेपाली बजारमा चर्चामा रहेको नेपाली उत्पादन शिखर शु इन्डिस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंको हो।

विसं २०५१ सालमा सानो ठाउँबाट व्यवसाय शुरू भएको शिखर ब्रान्डको जुत्ता अहिले देशका प्रायः सबै ठाउँमा पाइने गर्छ। राजधानीको तारकेश्वर नगरपालिका गोलढुंगामा रहेको यस उद्योगमा करिब तीन सय जना मजदुरको सहयोग र प्राइम कमर्सियल बैंकको साथले नै कम्पनीलाई अहिलेको अवस्थामा पुर्याएको प्रसाईंको भनाइ छ।

उत्पादन शुरू गरेको करिब आठ वर्षपछि मात्रै बैंकिङ कारोबार शुरू गरेको कम्पनीले बैंकबाट ऋण पाउने आश्वासन पाएपछि आफ्नो उत्पादन बढाउने योजना बनाएकाले नै कम्पनीले आजको सफलता प्राप्त गर्न सम्भव भएको नेपाल समाचारपत्रसँग प्रसाईंले बताउनुभयो।

उहाँको भनाइ छ– ‘थोरै पुँजीबाट शुरू गरेको व्यवसाय हो। कागजपत्र र धितोलाई मात्रै हेरेर बैंकले लगानी गरेको भए सायद कम्पनीले यो सफलता प्राप्त गर्न सक्ने थिएन।’ अन्य बैंकले ऋण लिन पेस गरेका कागजपत्र र धितोलाई बढी प्रमुखता दिए।

आफू प्राइम बैंकको सम्पर्कमा गएपछि बैंकले कामप्रतिको लगनशीलता र क्षमतालाई पनि विशेष ध्यान दियो। त्यसो भएको हुनाले कम्पनीलाई नयाँ उचाइमा पुर्याउन सम्भव भएको प्रसाईंको भनाइ छ।

बैंकहरूले धितो र कागजपत्र मात्रै हेरेर ऋण लगानी गर्नेभन्दा पनि उत्पादन हुने वस्तु, उसको बजार, सञ्चालकको कार्य क्षमता, कामप्रतिको लगानशीलता पनि विश्लेषण गर्नुपर्ने उहाँको सुझाव छ।

रामछापको मन्थली नगरपालिका–७ मिगिटारमा जन्मिनुभएका रामकृष्ण प्रसाईं जुत्तासम्बन्धी काम गर्नकै लागि विसं २०५० सालमा काठमाडांै आउनुभएको थियो। तत्कालीन समयमा रहेको बाँसबारी छालाजुत्ता कारखानाबाट उत्पादित जुत्ता स्थानीय बजारमा बेचेर जुत्ता व्यवसायको अनुभव बटुल्नुभएपछि प्रसाईंले आफ्नो परधीलाई विस्तार गर्नका लागि काठमाडौंको यात्रा तय गर्नुभएको थियो।

बाँसबारी छालाजुत्ता कारखानाबाट उत्पादित सामग्री बिक्री गर्ने प्रसाईंको अहिले आफ्नै जुत्ता कारखाना छ। उहाँको कम्पनीबाट उत्पादित करिब ७ सय प्रकारका जुत्ता चप्पल अहिले नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ।

‘दिगो व्यापार चाहने व्यवसायीले कर छली गर्दैनन्, क्षणिकरूपमा देखापर्ने व्यवसायीले यसो गरेको हुँदा सरकारले असल व्यापारी र खराब व्यापारीलाई चिनेर त्यहीअनुसारको व्यवहार गर्नुपर्छ।’ –सरकारलाई प्रसाईंको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्