“एनएमबि बैंक अरू बैंकभन्दा फरक किसिमले अगाडि बढेको छ”



सुनील केसी
सीईओ, एनएमबि बैंक

करिब ३० वर्षअघि बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका सुनील केसी अहिले एनएमबि बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कार्यरत हुनुहुन्छ। काठमाडौंमा नै जन्मनुभएका उहाँ करिब २२ वर्षको उमेरमा बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएको थियो। बैंकिङ क्षेत्रको विकासको शुरुआती चरणमा नै यस क्षेत्रमा सक्रिय हुनुभएका उहाँ विगतको बैंकिङ क्षेत्र अहिलेभन्दा निकै पृथक् अवस्थाबाट विकसित भएको सम्झनुहुन्छ। नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले एनएमबि बैंकका सीईओ सुनील केसीसँग नेपालमा बैंकिङ क्षेत्रको पछिल्लो अवस्था, बैंकिङ क्षेत्रको अबको यात्रा तथा एजेन्डा र एनएमबि बैंकले पुर्याउँदै आएको योगदानबारे गरेको कुराकानी :

३० वर्ष पहिलेको र अहिलेको नेपालको बैंकिङ क्षेत्रलाई यहाँले कसरी हेर्नुभएको छ ?

सरसर्ती हेर्दा पहिलेको तुलनामा अहिले नेपालको बैंकिङ क्षेत्रमा धेरै विकास भएको छ। पहिला एउटा कम्युटर देख्न पनि मुस्किल हुने अवस्थामा बैंक चलाइएको थियो, अहिले त प्रविधिमय बनिसकेको छ।

त्यतिखेर भर्खर प्रजातन्त्रको अभ्यास भएको अवस्था थियो। निजी क्षेत्रका बैंक पनि विस्तारै आए। नयाँ विदेशी ‘ज्वाइन्ट भेन्चर’ कम्पनी पनि आए। नेपालका बैंकहरू विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थासम्म आइपुगेका छन्।

त्यतिखेर नेपालमा बैंकको भर्खर शुरुआत भएकाले संख्या एकदम कम थिए। ग्राहक पनि धेरै थिएनन्। बैंकिङ गतिवधि काठमाडौंमा मात्रै सीमित थियो। त्यतिखेर ग्राहकले बैंक खोज्नुपर्ने अवस्था थियो। प्रविधिगत सीप पनि धेरै थिएन। व्यापार पनि धेरै थिएन।

तर, अहिले व्यापार पनि फस्टाएको छ। ग्राहकलाई बैंकले खोज्नुपर्ने अवस्था छ। यो एकदमै ठूलो तथा महत्वपूर्ण फड्को भएको मलाई लाग्छ।
मुख्य कुरा अहिले प्रविधिमा धेरै परिवर्तन भएको छ।

अहिले बैंकका सबै जसो काम कम्प्युटरलगायतका विद्युतीय प्रविधिबाट हुन्छ भने त्यतिबेला हामीले काम हातले लेखेर गर्नुपथ्र्याे। त्यतिबेला बैंक ३/४ वटा शहरमा मात्र सीमित थिए भने अहिले दूरदराजका गाउँमा पनि पुगेको अवस्था छ। त्यस मानेमा बैंकिङ क्षेत्रमा धेरै परिवर्तन भएको छ। तर, यसो भनिरहँदा अझै हामीले गर्नुपर्ने काम धेरै छन्।

विगतमा बैंकहरू वित्तीय पहुँच बढाउनेतर्फ केन्द्रित थिए, अब झन्डै यो पूरा भइसकेको अवस्था छ। अब बैंकको यात्रा, लक्ष्य वा एजेन्डा कतातिर ?

नेपालको बैंकिङ क्षेत्रलाई हेर्ने हो भने अहिले अवस्था राम्रो रहेको छ। नेपालमा बैंकको इतिहास हेर्दा निजी बैंकहरू स्थापना भएको करिब ३५/३६ वर्ष भयो।

नेपालको बैंकिङ क्षेत्रको विकासक्रमलाई औसतमा हेर्दा १९/२० वर्ष जति भयो। यो अवधिमा जुन खालको प्रगति नेपाली बैंकले गर्यो, यो नेपालमा मात्र नभएर दक्षिण एसियामै उदाहरणीय रहेको छ।

नेपालमा भएका अरू उद्योगभन्दा पनि बैंकिङ उद्योगले छोटो समयमा धेरै प्रगति गरेकाले आज कर, रोजगार आदिजस्ता क्षेत्रमा बैंकिङ उद्योगको योगदान धेरै रहेको छ।

गाउँ–गाउँसम्म पनि बैंक, एटीएम पुगेका छन्। यसर्थ, सबैतिर वित्तीय पहँुच पुगेको छ। यसरी छोटो समयमा धेरै फड्को मारेको छ। यसो भनिरहँदा बैंकिङ क्षेत्रमा गर्नुपर्ने काम पनि थुप्रै छन्। अहिलेसम्म हामीले पहुँच तथा शाखा विस्तार गर्यौं। अब ग्राहकलाई दिनुपर्ने सेवातर्फ बैंकिङ क्षेत्र अगाडि बढ्नुपर्ने समय आएको छ।

देशमा संघीयता आइसकेपछि नेपालको अर्थतन्त्र फैलिएर गइरहेको छ। केन्द्रदेखि स्थानीय तहसम्म पुग्दा यससँगै आउने अवसर सबैसम्म पुर्याउने, स्थानीय तहको आर्थिक गतिविधिलाई सहयोग गर्ने, स्रोतको परिचालन गर्ने आदि सबै कुराको लागि बैंकिङ उद्योग तयारी अवस्थामा रहनुपर्ने हुन्छ।

अर्काे कुरा अबको समयमा छिटो, छरितो, सुरक्षित एवं विश्वसनीय भएकाले ग्राहकलाई डिजिटल माध्यमबाट सेवा प्रदान गर्नतर्फ लाग्नुपर्छ। नेपालमा अझै पूर्वाधारको विकास हुन बाँकी छ। त्यसैले नेपालभित्रको मात्र नभएर बाहिरको पँुजीलाई पनि भित्याएर परिचालन गर्नेतर्फ लाग्नुपर्छ। सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको मुलुक बनाउने सरकारको लक्ष्य छ।

८ देखि १० प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य छ। त्यस्तै १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ। यी सबै योजनाका लागि थुप्रै पुँजीको आवश्यकता पर्छ। जुन नेपालभित्रको बजेटले मात्र सम्भव हुँदैन।

त्यसकारणले हामीले अलि फरक रूपमा क्यापिटल मार्केट इन्स्ट्रुमेन्ट, क्यापिटल मार्केट बन्डहरूमा पनि काम गर्नुपर्छ। क्यापिटल मार्केटको विकासमा पनि बैंक लाग्नुपर्छ। विदेशबाट आउने पँुजीलाई पनि उचित परिचालन गर्नेतर्फ लाग्नुपर्छ।

बैंकले डिजिटाइजेसन, नयाँ पेमेन्ट सिस्टमलाई स्पेसिफिक बनाउनेजस्ता कुराबाट ग्राहकलाई नयाँ किसिमको अनुभव दिने, भ्यालुएडेड सर्भिस दिएर ग्राहकलाई आकर्षित गर्ने, नयाँ प्रोडक्ट ल्याएर बैंकिङ क्षेत्रभन्दा बाहिर रहेको पुँजीलाई भित्याउने जस्ता काममा जति पनि सुविधा दिनुपर्छ त्यसबारेमा काम गर्नु बैंकको अबको एजेन्डा हो।

बढ्दो प्रविधिको प्रयोगसँगै बैंकिङ क्षेत्रमा जोखिम पनि त्यत्तिकै मात्रामा बढिरहेको छ। जोखिम न्यूनीकरण गर्न के गर्नुपर्ला ?

एउटा सिस्टममा चलिसकेपछि एवं नेटवर्कमा रहेर काम गरिसकेपछि उक्त सिस्टमलाई ह्याक गरेर या सिस्टमलाई प्रयोग गरेर आफ्नो फाइदाका लागि काम गर्ने कुरा भइरहेका छन्।

कडा सुरक्षाका बाबजुद पनि संसारभरका बैंकले यस्तो खालका समस्या, चुनौतीको सामना गर्नुपरेको छ। नेपालजस्तो भर्खर विकास हुन लागेको देशमा अलिबढी जोखिम त पक्कै पनि रहेको छ। यसको सुरक्षाका लागि धेरै कुरा रहेका छन्। जस्तै पासवर्ड बदल्ने, युजर लेभलमा कन्ट्रोल गर्ने, डेटाहरूमा एक्सेस दिने।

त्यसबाहेक सिस्टमलाई सुरक्षित बनाउन विभिन्न किसिमका प्रोटेक्सनको फायर वाल राख्नेदेखि लिएर आफ्नो सिस्टमलाई अपडेट गर्ने, लगातार यसलाई मोनिटर गरिरहने, नयाँ किसिमको प्रविधिहरू ल्याएर त्यसलाई अझै सुरक्षित बनाएर राख्ने, आफ्नो प्रोसेसलाई कन्ट्रोल गरेर राख्ने जस्ता कुरा अपनाउने र बाहिर भएरहेको कुरा आफ्नोमा नभए पनि त्यसमा लगानी गरेर अझै सुरक्षित बनाउँदै जानुपर्छ।

यस्तै बैंकिङ क्षेत्रले आफ्नो सुरक्षाका लागि अलि बढी लगानी गर्नुपर्ने हुन्छ, किनभने बैंकले ठूलो डिपोजिट लिएर बसेको हुन्छ। वाणिज्य बैंकहरूले मात्र ३ हजार अर्ब डिपोजिट लिएका छन्। वाणिज्य बैंकले जीडीपीको साइजको पुँजी चलाइरहेका छन्।

त्यसैले सुरक्षा व्यवस्था पनि कडाइका साथ लागू गर्नुपर्छ। राष्ट्र बैंकले पनि नीति नियम बनाउँदै आइरहेको छ र हामीले पनि आफ्नो सुरक्षाका लागि लगानी गर्दै आएका छौं।

हरेक वर्ष देखिँदै आएको बैंकिङ तरलता यो वर्ष देखिएन, यस्तो कसरी भयो ?

तरलता भनेको कहिले घट्ने कहिले बढ्ने होइन कि बजारमा देखिइरहने प्रक्रिया हो। जुनबेला लोनको डिमान्ड बढ्दै जान्छ त्यसअनुसार डिपोजिटलाई मोबिलाइजेसन गर्न सक्दैनांै, त्यस बेला कम हुने हो।

कुनै बेला डिमान्ड कम हँुदै जाँदा र सप्लाई हँुदै गएपछि त्यसले विस्तारै कन्ट्रोल गर्दै जान्छ। यो नेपालमा मात्र नभए विश्वभर नै हुन्छ। यसलाई अनौठो रूपमा लिनुपर्ने कारण छैन।

यसपटकको तथ्यांक हेर्दा डिपोजिटभन्दा लोन नै बढी गएको छ। तर, त्यो गत वर्षभन्दा कम रहेको छ। यसको मतलब लोनको डिमान्डमा कमी आउनु हो। अथवा जुनखालको अपेक्षा थियो। त्यहीअनुसार नभएको पनि हो।

कर्जाको मागमा कमी आउनुमा राष्ट्र बैंकका नीति पनि बाधक हो ?

अघिल्ला वर्षमा व्यापारमा थुप्रै लगानी भए। अहिले त्यस्तो नयाँ प्रोजेक्ट आइसकेको अवस्था छैन। अहिले गत वर्षभन्दा अहिले आयातमा पनि केही कन्ट्रोल भएको छ। बैंकको लोन जाने एउटा क्षेत्र भनेको इम्पोर्टको फाइनान्स पनि हो।

यो वर्ष इम्पोर्ट घट्न गएको कारणले पनि हाम्रो ओभरअल ब्यालेन्स अफ पेमेन्टको स्थिति शोधनान्तर सकारात्मक छ। यो गत वर्ष नकारात्मक थियो। समग्रमा यी सबै कारणले गर्दा तरलता पोजेटिभ भएको हो।

नीतिको कुरा गर्दा २/४ वर्ष अगाडिदेखि नै शुरू भएको हो। यसले केही मात्रामा प्रभाव त पारेको होला। तर, त्यही कारणले लोन घटेको हो भन्दा पनि गत वर्ष थुप्रै उद्योग आइसकेपछि अहिले आएर इम्पोर्ट घटिरहँदा प्रभाव परेको हो। केही हदसम्म यसले पनि कन्ट्रोल गरेको होला। यसको उद्देश्य पनि कन्ट्रोल गर्नु नै थियो। नयाँ नीति आउँदा केही प्रभाव त परि नै हाल्छ।

अहिलेको अवस्थामा एनएमबि बैंकको अवस्था कस्तो रहेको छ ?

एनएमबि बैंक सबै किसिमका वित्तीय सूचकहरू हेर्दा हामी बलियो अवस्थामा छौं। भर्खरै एउटा मर्जर सकाइसकेपछि कोर क्यापिटल २० अर्बको हाराहारीमा छ।

प्रोडक्ट क्यापिटल १४ अर्बको हाराहारीमा छ। कर्जा १ सय २० अर्बको डिपोजिट लोन छ। १ सय ६३ वटा शाखा रहेका छन्।
यी सबै हेर्दा हामी नेपालको उत्कृष्ट बैंकमध्ये एक हौं। हामीले साइज बढाउनुभन्दा पनि मूलधारको बैंकभन्दा अलि फरक किसिमले अघि बढेर नेपालमा सबैले मन पराएको बैंक बन्ने प्रयत्नमा छौं।

यस बैंकमा नै ग्राहक आउनुपर्ने कारण के हुन्, ग्राहकका लागि कस्ता प्याकेज छन् ?

हामीले मुलुकको वास्तविक अर्थतन्त्रका लागि, सामाजिक विकासका लागि काम गरिरहेका छौं। नेपालको समग्र आर्थिक विकास हुने क्षेत्र ऊर्जा, पर्यटनलगायतको क्षेत्रमा हामीले लगानी गरिरहेका छौं।

कृषि क्षेत्र पनि हामीले निकै नै महत्वका साथ अघि बढिरहेका छौं। हामीले शिक्षा क्षेत्रमा पनि लगानी गरिरहेका छौं।यसले भोलि हाम्रा लागि निकै फाइदा पुर्याउने छ भन्नेमा हामी विश्वस्त छौं।

अहिले नै नाफा दिनेभन्दा पछि दीर्घकालीनरूपमा नाफा दिने प्रकृतिका काममा हामी अगाडि बढेका छौं। हामी अहिलेको पुस्तालाई भन्दा पनि अब आउने नयाँ पुस्ताका लागि राम्रो हुने किसिमले काम गरिरहेका छौं।

हामीले महत्वपूर्ण क्षेत्रमा लगानी गरिरहेका छौं जसले गर्दा समग्र आर्थिक विकास हुन जान्छ, रोजगारीको अवसर सिर्जना हुन्छ।
एनएमबि सुरक्षित बैंक पनि हो। यहाँ थुप्रै विदेशी ज्वाइन्ट भेन्चर कम्पनीसँग सहकार्य गरी अघि बढेको छ।

कर्मचारी सञ्चय कोष पनि हामीसँग छ। यसरी हेर्दा आजको दिनमा एकदमै बलियो, सुरक्षित र दीर्घकालसम्म चल्न सक्ने बैंक एनएमबि हो। त्यसकारण हामीसँग सहकार्य गर्नुपर्छ।

यस्तै, विदेशीहरूसँगको सहकार्यका कारण कर्पोरेट सुशासनमा पनि राम्रो छौं। हामीले कसैले पनि ल्याउन नसकेको विदेशी मुद्रा ल्याएर लगानी गरिरहेका छौं। त्यसकारण हामीसँग सहकार्य गर्नु महत्वपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्