बाक्लो हुस्सूका कारण ट्रक ठोकिँदा तीनको मृत्यु



यमलाल भुसाल, बुटवल।

भैरहवा–भूमही सडक खण्डमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। बिहान करिब साढे ६ बजे रुपन्देहीको रोहिणी छिपागढमा २ वटा ट्रक एकआपसमा ठोक्किदा ३ जनाको ज्यान गएको र ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक बाक्लो हुस्सूका कारण एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो।

दुर्घटनामा परि मृत्यु हुनेहरूमा ना २ ख ८४८१ ट्रकका चालक सुनसरी चतरा वस्ने पूर्णबहादुर भुजेल, नवलपरासी पालीनन्दन ४ का लालु कुर्मी, र मविकन कुर्मी रहेको प्रहरीले जनाएको छ।

घाइते ९ मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा परि घाइते हुनेहरूमा तनहुँ खैरेनी ५का वीरेन्द्र गुरुङ, नवलपरासी पालीनन्दनका अकलेश यादव, मनिस धवल, शैलेस कुर्मी, त्रिभुवन हरिजन, सुवाष कुर्मी, विनोद धवल, दुबई हरिजन र लु१ख ६७४५ नम्बरको ट्रकका चालक मोहन राई रहेको प्रहरीले जनाएको छ।

चालक राई र दुबई हरिजनको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र युनिभर्र्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्