एमसीसी कार्यान्वयन राष्ट्रहितमा प्रयोग गरिने



नेपाल समाचारपत्र, ललितपुर।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताउनुभएको छ। उहाँले राष्ट्रको हितविपरीत नेपालले कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट पार्नुभएको छ।

प्रेस संगठन नेपाल, उपत्यका प्रदेश समितिका पदाधिकारीसँग मंगलबार बिहान आफ्नै निवास हात्तीवनमा कुराकानी गर्दै उहाँले कुनै पनि विषयमा निर्णय गर्दा सर्वोपरि हितअनुकूल हुने गरी निर्णय गरिने दोहोर्याउनुभएको छ।

केन्द्रीय प्रचार विभाग प्रमुख श्रेष्ठले आफूले विभिन्न कार्यक्रममा एमसीसीको विषयमा व्यक्त गरेको धारणालाई बङ्ग्याएर समाचार प्रकाशन गरेकोमा दुःख व्यक्त गर्नुभएको छ।

मैले पत्रकारलाई यो अनुरोध गर्छु कि कुनै पनि विषयमा समाचार सम्प्रेषण गर्दा हचुवाको भरमा भन्दा पनि गम्भीर हुनु आवश्यक छ। नेता श्रेष्ठलाई राष्ट्रियसभाबाट निर्वाचित भएकोमा बधाई दिन संगठनका पदाधिकारी निवास पुगेका थिए।

संगठनका पत्रकारसंग भेटको क्रममा उहाँले देशले क्रान्तिको नयाँ प्रयोग गरिरहेको समेत बताउनुभएको छ। नेपालमा कम्युनिष्ट पार्टीको एकता र निर्वाचनबाट जनमत प्राप्तिसँगै शान्तिपूर्ण प्रतिस्पर्धा र उन्नत लोकतन्त्रको मार्गबाट नयाँ ढाँचाको वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यका साथ नेकपा अघि बढेको उल्लेख उहाँको धारणा थियो।

उहाँले भन्नुभयो– ‘हाम्रो देशको क्रान्तिको नयाँ प्रयोगलाई विश्वसमुदायले हेरिरहेका छन्, त्यसैले हाम्रो पार्टीको ध्यान नयाँ प्रयोगलाई कसरी सफल बनाउने भन्ने रहेको छ।’ ‘नयाँ मोडल स्थापना गरेका छांै, यो मोडललाई फुटेर होइन जुटेर सफल बनाउनु पार्टीको चुनौती रहेको छ।’ –उहाँको भनाइ थियो।

कम्युनिस्ट र समाजवादी कित्ताले नेपालको क्रान्ति सफल भएमा त्यसको पाठ हुने दृष्टिले तथा पूँजीवादी र साम्राज्यवादी कित्ताले कम्युनिस्ट नेतृत्व स्थापित होला कि भन्ने शंकाको दृष्टिले हेरिरहेको छ। त्यसकारण समृद्धि र समाजवादको कार्यभार पूरा गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ। यसका लागि तपाईंहरूको सहयोग आवश्यक छ।’ –उहाँको भनाइ थियो।

‘हामी हाम्रो आन्दोलनलाई सोभियत मोडलमा हुबहु लागू गर्न सक्दैनांै, हामीले २१औं शताब्दीको समाजवाद खोजेका छांै, त्यहीअनुसार नयाँ मोडल प्रयोग गरिरहेका छौं।’ –उहाँले भन्नुभयो।

उहाँले पार्टीमा गुट, उपगुट र व्यक्तिवाद नभई संस्थागत र पारदर्शिताका आधारमा निर्णय र कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिनुभयो। कार्यक्रममा संगठनका उपत्यका इन्चार्ज सुरोजङ पाण्डे, संयोजक नवराज दाहाल, सह–संयोजक प्रकाश सिलवाललगायतले कार्यकाल सफलताको शुभकामना दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्