लामाले ल्याउने भए २ नम्बरी



पत्रकार, लेखक तथा निर्देशक दीपेन्द्र लामाको चौथो फिल्मका रूपमा २ नम्बरी नामक फिल्म निर्माण हुने भएको छ। फिल्मको राजधानीमा आयोजित एक समारोहबीच निर्माण घोषणा गरिएको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बन्ने फिल्मले दुई साथीको कथा भन्ने बताइएको छ। फिल्ममा नायक दयाहाङ राई र पल शाह साथीको भूमिकामा देखिँदै छन्। उनीहरूलाई नायिका वर्षा राउत र बुद्धि तामाङले साथ दिनेछन्।

‘एउटा सुन्दर गाउँका दुई जना साथी, उनीहरूको मित्रता र शत्रुताको कथामा यो फिल्म बन्नेछ। साथमा, फिल्मले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ।’ –लेखक तथा निर्देशक लामाले भने।

अभिनेता दयाहाङ राईले पनि फिल्मको कथा मन परेपछि आफू काम गर्न तयार भएको सुनाए भने नायक पल शाहले फिल्मले साथीहरूको कथालाई प्रस्तुत गर्ने दोहोर्याए। नायिका वर्षा राउतले फिल्म हेर्दा दर्शक आफ्नो भूमिकालाई लिएर सन्तुष्ट हुने दाबी गरिन्।

रेड बर्ड प्रोडक्सन र आरआर फिल्म प्रोडक्सनको ब्यानरमा किरण नेपालीको प्रस्तुति, रोहित कट्टेल र सरोज नेपाली निर्माण तथा अमलादेवी राईको सहनिर्माणमा बन्ने फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ रहेका छन्।

आगामी २५ गतेबाट सुटिङ फ्लोरमा जाने फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी र सुसन प्रजापतिको छायांकन रहनेछ भने आगामी वर्षको जनैपूर्णिमालाई रिलिज डेट तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्