मेलिनाले नमागी पाइन् ताली



दुर्गाप्रसाद शर्मा, पर्वत

लोकप्रिय गायिका मेलिना राईले पहिलोपटक पर्वतमा आफ्ना गीत गाएर दर्शक तथा स्रोतालाई छमछम नचाएकी छन्।पर्वत महोत्सवमा सोमबार चिसो रातमा आफ्ना हिट गीत गाएर स्टेजमा चढेकी गायिका राई आफू मात्रै नाचिनन्, पर्वतको कुस्माका हजारांै दर्शकलाई आप्mना गीत संगीतबाट नचाइन्।

कुस्मा बजारको बड्गाउँ चौरमा भइरहेको महोत्सवस्थल सोमबार दिउँसोदेखि नै भरिभराउ थियो। दिनभर भाइरल गायिका कमला घिमिरेको प्रस्तुतिमा नाँचेका दर्शक साँझ परेपछि मेलिना राईको प्रतीक्षा गरिरहेका थिए।

रातको आठ बज्न आँटेको थियो, त्यसै बेला उनी मञ्च चढेपछि महोत्सवस्थल झनै भरिभराउ भयो। के केटाकेटी, के बूढाबूढी, युवायुवती सबै उनको गीतमा झुम्न र नाच्न थालेका थिए।

रातो टीका निधारमा टलक्कै टल्कियो होस् वा कुटुमा कुटु सुपारी दाना, कसरी कसरी, माछीले खाने खोलीको लेउ, टिकटकमा देखेको, तिमीले बाटो फेर्यौ अरे, हावा चल्यो सिरिरीलगायतका दर्जनभन्दा बढी गीत उनल गाइन्।

अन्त्यमा कसले कुरा लाइदियो गीतबाट आफ्नो एक घण्टाभन्दा लामो प्रस्तुति सकाएकी उनले गीत गाइरहँदा सबै दर्शकले जाडोको र रात कटेको परवाह नगरी उनलाई हुटिङ गर्दै स्वागत गरिरहेका थिए।

अन्य कलाकारले पटकपटक दर्शकसँग ताली माग्छन्, तर पहिलोपटक पर्वत आएकी मेलिनाले दर्शकसँग ताली माग्नै परेन, गीत गायनबाटै स्वतः स्फुर्तरूपमा लगातार ताली र हुटिङ पाइरहिन्।

मेलिनाले मात्रै होइन, पर्वतको महोत्सवको छैठौं दिन सोमबार दिउँसो सामाजिक सञ्जालमा भाइरल भएकी बालगायिका कमला घिमिरेले पनि महोत्सवको माहोललाई निकै तताइन्।

प्रतिक्रिया दिनुहोस्