एमसीसी संसद्मा प्रवेश

संसद्मा ओली–देउवाको एउटै बोली



मधुसूदन रायमाझी/सुरेश तामाङ,काठमाडौं

वादित बन्दै आएको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयले संसद्मा प्रवेश पाएको छ। संसद्मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्ष दल कांग्रेस एमसीसी अनुमोदन गर्नुपर्छ भन्दै एकसाथ उभिएका हुन्।

कांग्रेसभित्र एमसीसीका बारेमा विवाद नरहे पनि सत्तारूढ दलभित्र एमसीसी अनुमोदन गर्ने विषयमा विवाद छ। तर, नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने एमसीसी छिट्टै पारित हुने विश्वास गर्नुभएको छ।

मंगलबार नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई संसद्मा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले थुप्रै विधेयक पारित गरेर ऐन निर्माण गर्नुपर्ने बताउँदै भन्नुभयो– ‘धेरै अघिदेखि विभिन्न चरण पार गर्दै आएको, ६/७ जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेको एमसीसी पारित गर्नुछ।’

यस अधिवेशनलाई अलिकति समय खेर गएको भए पनि अब खेर जान नदिएर थुपै्र कामलाई सहज ढंगले अघि बढाउने कार्यमा सभामुखले सहज भूमिका खेल्ने विश्वास उहाँले गर्नुभयो।

सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानको रक्षा, परिपालना, कार्यान्वयन र नियमसंगत संयमित ढंगले संसदलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।

दलीय एकतातर्फ औल्याउँदै उहाँले मुलुक सफल रहन सबै दलहरू एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। ‘राजनीतिक दलहरू एकताबद्ध भएकैले इतिहासमा ठूलठूला परिवर्तनहरू सफल भएका छन्’ –उहाँले भन्नुभयो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख पद तटस्थ र निष्पक्ष पद रहेकोले प्रतिपक्षमा रहेका दललाई पनि सोहीअनुसार व्यवहार गर्न बताउनुभयो। सभामुख तटस्थ र निष्पक्ष पद हो, उहाँले भन्नुभयो, ‘सभामुखको भूमिका तदस्थ र निष्पक्ष हुनुपर्छ, प्रतिपक्षको कुरा पनि सुन्ने हुनुपर्छ।’

सभापति देउवाले मुलुकमा प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई मजबुत बनाउने तर प्रेसमाथि नियन्त्रण गरे लोकतन्त्र सफल नहुने बताउँदै पछिल्लो समय चर्चित विधेयकहरू सूचना विधेयक, मिडिया काउन्सिल विधेयक मौलिक हकलाई समेत हनन हुने गरी आएकाले यसतर्फ सरकारले विचार गर्नुपर्नेमा जोड दिुभयो। उ

हाँले बहुचिर्चित सम्झौता एमसिसी धेरै ठूलो आयोजना भएकोले यसले मुलुककै हित हुने बताउँदै यसमा आपत्ति नजनाउन सबैसँग आग्रह गर्नुभयो,‘संसदबाट छिट्टै एमसीसी पास हुनुपर्छ।’

समाजबादी पार्टीका नेता बाबुराम भट्टराईले बौद्धिकता त्याग र लगनशीलताले सभामुख पदको कार्यकाल सफल होेस् भन्ने कामना गर्दै संसदको गरिमालाई अवमूल्यांकन गर्न नहुनेमा जोड दिनुभयो।

संघीयता र समावेशिताको मुद्दा क्रमशः खोसिदै गएको धारणा व्यक्त गर्दै प्रदेशको नाम र राजधानी तोक्ने क्रममा संघीयता र समावेशिताको मर्म विपरीतका काम भएको बताउनुभयो।

भट्टराईले नेपालको संसद् झिनामसिना विषयमा नै अल्झिएको र सांसदहरूमा संसदप्रति आकर्षण नै नभएको बताउँदै भन्नुभयो, ‘गम्भीर बहस र राष्ट्रिय मुद्दामा संसदमा छलफल नै हुन सकेन।’

सांसदहरूलाई सदनप्रति आकर्षण नहुँदा धेरै छलफलमा सदन नै खाली भएको टिप्पणी गर्दै संसदमा उठाएका प्रश्नहरूलाई सरकारले ध्यान दिनुपर्नेे बताउनुभयो।

नेपालमा सभामुखको मर्यादाक्रम पछाडि राखिनु त्रुटिपूर्ण भएको बताउँदै मर्यादाक्रममा राष्ट्रपति र उपराष्ट्रपतिपछि सभामुखलाई राख्नुपर्ने धारणा उहाँको थियो।

नेपालको मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशपछि सभामुख रहने व्यवस्था गरिएको छ। उहाँले एमसीसीको विषयमा पार्टीभित्रै एक मत नदेखिएको विषय राम्रो संकेत नभएको बताउनुभयो।

राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्रराय यादवले सिंगो नेपाली जनताले प्राप्त उपलव्धिमा सभामुख सापकोटाले विगतमा खेल्नुभएको महत्वपूर्ण भूमिका संसद सञ्चालनमा सदुपयोग गर्नुहुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले राजपाले उठाएको संविधान संशोधन, मुद्दा फिर्ता र जेलमा रहेका रेशम चौधरीको रिहा गर्ने काम सरकारले गरेको अवस्थामा सरकारलाई पुनः समर्थन गर्न सकिने बताउनुभयो। उहाँले नागरिकता विधेयकलाई छिटो टुंगो लगाउनुपर्ने माग गर्नुभयो।

विगतमा सरकारले मधेश निकट दलसँग संविधान संशोधन गर्न गरेको सम्झौता र सहमतिलाई कार्यान्वयन नगरेको विषयमा उहाँले चिन्ता व्यक्त गर्दै शान्ति र राजनीतिक स्थिरताका लागि भएपनि कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। नवनियुक्त सभामुख सापकोटालाई प्रेम सुवाल, दुर्गा पौडेलले पनि बधाई एवं शुभकामना दिनुभएको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते बस्नेछ।

संसद्को प्रतिष्ठालाई उच्च बनाउछु : सभामुख

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफू सभामुख पदमा निवार्चित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उहाँले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयासरत रहने बताउनुभयो।

अध्यक्षताका लागि सात सांसद मनोनित

सभामुख सापकोटाले प्रतिनिधिसभाको सभामुख उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि सभाको अध्यक्षता गर्न सात सदस्यलाई मनोनयन गर्नुभएको छ।

उहाँले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नुभएको हो। प्रतिनिधिसभाको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामसमेत मनोनयन गरेको छ।

बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नुभएको थियो भने सो प्रस्तावलार्ई बैठकको सर्वसम्मतिले अनुमोदन गरेको छ।

मनोनयन हुनेमा उमेश शंकर अर्घरिया, चन्द्रकान्त चौधरी, डिला संग्रौला, मानबहादुर विक, राधाकृष्ण ज्ञवाली, रेखा शर्मा र सोमप्रसाद पाण्डे रहनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्