६८ लाख अनलाइन ठगी गर्ने ८ जना पक्राउ



सरोज यादव, विराटनगर।

अनलाइन सपिङको माध्यमबाट ठगी धन्दामा संलग्न एक समूहलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले ६७ लाख ९९ सय हजार ७ सय ५० रुपियाँ नगद, ३७ वटा एटीएम कार्ड, ५८ वटा चेकबुकलगायतका सामानसहित ८ जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा नेपालका लिडर रहेका भनिएका मोरङ सुन्दरहरैंचा–३ का विशाल अर्याल भनिने निरञ्जनप्रसाद आचार्य, खोटाङको जन्तेढुंगा–४ का २२ वर्षीय शिवजी खड्का, सोही ठाउँकी २० वर्षीय देवी चौलागाईं, धरान–२० की २० वर्षीया भावना राई, धरान–५ की १९ वर्षीया सरिता परियार, सोही ठाउँकी २० वर्षीय सरिता कार्की, २३ वर्षीया सानु गौतम, २१ वर्षीया लक्ष्मी कार्की रहेका छन्।

विशाल भन्ने निरञ्जनप्रसाद आचार्यलगायतको समूहले बेस्ट वाई एप्पल स्टोर, बेस्ट इलेक्ट्रोनिक्स स्टोर सप होम, के मार्ट इलेक्ट्रोनिक्सलगायतका फेसबुक पेजहरूमा इलेक्ट्रोनिक्स आइटम र अनलाइन बिक्री गर्ने उद्देश्यले सस्तो मूल्यमा महँगो सामान राखी निश्चित मूल्यमा डिल हुने विश्वास दिलाउने गर्दथे।

जब ग्राहकले सामान अर्डर गर्छन् तब ती ग्राहकले पैसा पठाउने खातावालाको खाता खोल्ने र ग्राहकलाई खातावालाको नाम र खाता नम्बर दिई पैसा उठाएर सामान नपठाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताउनुभयो।

उहाँले अन्य व्यक्तिको कागजात फेला पारी खाता खोलेर रकम निकालिसकेपछि खाता बन्द गर्ने गरेको बताउनुभयो। उनीहरूले ७८ वटा नेपाली बैंक र १४ वटा भारतीय बैंक खाता प्रयोग गर्ने गरेको खुलेको छ। महिलाको नामबाट बढी खाता खोलेको पाइएको उहाँले बताउनुभयो।

निरञ्जन आचार्यले वर्षा कार्की, सानु गौतम, लक्ष्मी कार्कीलगायतका महिलासहितको फोटो राखी विभिन्न व्यक्तिको नागरिकताबाट उनीहरूको नाममा खाता खोलेर अनलाइनमा सामान मगाउने मानिसलाई नाम र खाता नम्बर दिँदै पैसा हाल्न लगाउने गरेका थिए।

जम्मा भएको उक्त पैसा निकाल्न शिवजी खड्का, देवी चौलागाईंलगायतलाई प्रयोग गर्ने गरिएको थियो। केही रकम भारतीय विभिन्न व्यक्तिको नाममा जम्मा गर्ने गरेको खुलेको एसपी अधिकारीले जानकारी दिनुभयो।

उक्त ठगी धन्दाको लहरो भारतलगायतका देशमा फैलिएको प्रहरीको अनुमान छ। छत्रकुमारी धमलाले प्रयोग गर्ने बैंक खाता बन्द भएपछि बैंकमा बुझ्दा महानगरीय प्रहरी अपराध महाशाखाले धमलाले ठगी गरेको पत्र पठाएकाले बैंक खाता बन्द भएको बुझिएको थियो।

सचिन श्रेष्ठसमेतको जाहेरीअनुसार खाताका आधारमा प्रहरीले धमलालाई प्रतिवादी बनाई जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो। धमला कात्तिक २५ गते ५० हजार धरौटीमा छुटेकी थिइन्।

उनको नाममा अर्कै व्यक्तिले नागरिकताको फोटोकपी फेला पारी एनआईसी एसिया विराटनगरमा खाता खोली, ९८४०६८६०७१ नम्बरको मोबाइल नम्बर लिएर चिठ्ठा पर्यो भन्दै खातामा पैसा पठाउन लगाएको खुलेको थियो।

धमलाको खाता खोल्ने मानिसको खोजी गर्ने क्रममा पुस ३ गते विराटनगर–७ स्थित सिभिल बैंकमा सशंकित रुपमा विभिन्न किसिमका एटीएम कार्ड प्रयोग गरेको सूचनाका आधारमा प्रहरी टोलीले शिवजी खड्कालाई पक्राउ गरेपछि अरू व्यक्ति पक्राउ परेको एसपी अधिकारीले बताउनुभयो।

पक्राउ पर्ने व्यक्तिको खानतलासी गर्ने क्रममा रकम, एटीएम कार्ड, चेकबुक, मोबाइल, नेपाल सरकारको नक्कली छाप, भारतीय नम्बर प्लेटको मोटरसाइकल, प्रिन्टर, भारतीय आधारकार्ड, सिमकार्ड, ल्यापटपलगायतका सामग्री बरामद गरिएको थियो। यसमा अन्यको समेत संलग्नता रहेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी, बैंकिङ कसुरसम्बन्धी ऐनअन्तर्गत बंैकिङ कसुर, सरकारी छाप कागजात दस्तखत किर्ते, नागरिकता ऐनअन्तर्गत दोहोरो नागरिकता र संगठित अपराध निवारण ऐन २०७० बमोजिम मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्