बेमौसममा सुन्तला बिक्री गर्न शीतभण्डारण गृह निर्माण



न्युज अफ नेपाल, पर्वत ।

मुलुकमै सबैभन्दा बढी स्वादिलो सुन्तला उत्पादनका लागि प्रसिद्ध उत्तरी पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेमा सुन्तला शीतभण्डारण गृह निर्माण भएको छ । फागुन सम्म सुन्तला बोटमै राखेर बिक्री गर्ने बाँसखर्कका कृषकले अझै राम्रो मुल्यमा सुन्तला बिक्री गर्ने उद्देश्यले शीतभण्डार निर्माण गरेका हुन ।

बजारमारे सुन्तला उत्पादक सहकारी संस्थाले ७८ लाख रुपैंयाको लागतमा शितभण्डार निर्माण गरेको हो । ७१ हजार २४० रुपैयाको लागतमा निर्माण भएको शितभण्डार गृहमा १६ मेट्रिक्टन सुन्तला भण्डारण गर्न सकिने सहकारीका कोषाध्यक्ष रेवती खत्रीले बताउनुभयो । शीत भण्डार निर्माणका लागि गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाले आर्थिक सहयोग गरेका छन । गण्डकी प्रदेश सरकारको ४८ लाख ६२ हजार, वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले एक लाख पन्ध्र हजार, सहकारीको ८ आठ लाख ५९ हजार ३ सय ४०, सदस्यहरुको पाँच लाख ३४ हजार ९०० रुपैयाँ लगानी भएको छ । १५ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

शीतभण्डार निर्माण संगै बेमौसममा बजारमा सुन्तला बिक्री गर्ने उद्देश्य राखिएको सहकारीका सचिब ख्यामबहादुर क्षेत्रीले बताउनुभयो । बासखर्क र मल्लाजमा सिचाई सुबिधा भएपछि सुन्तला खेतीको बिस्तार भैरहको छ । अहिले पनि बोटबाटै १ सय २० रुपैंया प्रतिकेजीका दरमा सुन्तला बिक्री भैरहेको छ । ‘बेमौसममा बिक्री गर्दा अझै राम्रो मुल्य पाउन सक्छौ भन्ने अपेक्षा छ ।’ उहाँले भन्नुभयो ‘यो भन्दा अझै धेरै क्षमताको कोल्डस्टोरको आवश्यकता रहेको छ।’

शितभण्डार गृह सञ्चालनका लागि चौबिसै घण्टा नियमित विद्युत आवश्यक पर्ने भएकाले जेनेरेटरको लागि गाउपालिकामा अनुरोध गरिएको सहकारीका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो । यसपालि परिक्षणका लागि सुन्तला भण्डारण गर्ने र अर्को वर्षदेखि पुरै क्षमतामा भण्डारण गर्ने उहाँले बताउनुभयो । यस वर्ष दुई करोड पचास लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो । सुन्तला बगैचा व्यवस्थापन, सिँचाई, शितभण्डारमा नियमित विद्युत आपुर्ति र महशुलमा छुट र सडक स्तरोन्नतिका लागि कृषकहरुले माग गरेका थिए ।

बासखर्कमा १६० घरधुरीले ८४ हेक्टर क्षेत्रफलमा व्यवसायिक सुन्तला खेती गरिरहेका छन । शीतभण्डार निर्माण पछि नियन्त्रित चिसो तापक्रममा भण्डारण गर्न सकिने भएको छ । सिजनमा मूल्य र बजार नपाउने समस्या छ । बेसिजनमा सहज रुपमा बजार र उचित मूल्य पाइने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अमृतप्रसाद ढकालले कृषकको आम्दानी वृद्धिको लागि सुन्तलाको उत्पादनलाई बिबिधिकरणमा जोड दिएको बताउनुभयो । बासखर्कमा अर्को शितभण्डार गृह बनाउन र सुन्तला खेति विस्तारमा प्रदेश सरकारले सघाउने बताउनुभयो ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बाँसखर्क जोड्ने सडकलाई स्तरोन्नति गर्ने र नियमित विद्युत आपुर्तिको व्यवस्था मिलाएर शितभण्डार गृह सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्