कोरोना भाइरसको परीक्षण सोमबारदेखि नेपालमै सुरु



न्युज अफ नेपाल, काठमाण्डौ ।

सरकारले कोरोना भाइरसको परीक्षण नेपालमै सुरु गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबारदेखि कोरोना भाइरसको जाँच सुरु गरिएको मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा पनि थर्मल स्क्यानर मार्फत ज्वरो लगायतका अन्य लक्षणहरु नाप्न थालिएको श्रेष्ठले जानकारी दिए ।श्रेष्ठले काठमाडौंमा रहेको अस्पतालहरुको ल्याबहरुलाई प्रयोग गर्ने विषयमा काम भइरहेको जानकारी समेत दिए । त्यस्तै सबै प्रदेशमा भिडियो कन्फ्रेन्स मार्फत निरन्तर रिपोर्टहरु लिने र निर्देशनहरु दिने काम भइराखेको उनले बताए ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा. अनुल बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको जानकारी दिए । डा. बास्तोलाले कोरोना भाइरसबाट बच्न भिडभाडमा जान नहुने, साबुन पानीले हात धोइराख्ने, खोक्दा वा हाछ्यु गर्दा मुख छोप्ने, मास्क तथा पञ्जा लगाउने लगायतका काम गर्नुपर्ने बताए । डा. बास्तोलाले स्वास्थ्यकर्मीहरुले पनि संकास्पद विरामीहरु आएमा मास्क, पञ्जा, गाउन लगाउने र विरामीलाई छोएपछि तत्काल हात धुने लगायतका प्रकृया अपनाउनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अधिकारी सुनिल शर्माले सरकारले कोरोना भाइरसबाट बच्ने उपायको विषयमा आवश्यक प्रचार प्रसारको सुरुवात गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्