बाक्लो हुस्सुका कारण ट्रक ठोक्किँदा चालकसहित ३ को मृत्यु, ९ घाईते



यमलाल भुसाल, बुटवल ।

भैरहवा–भूमही सडक खण्डमा मंगलवार बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बिहान करिब साढे ६ बजे रुपन्देहीको रोहिणी गाँउपालिका वडा नम्वर ४ छिपागढमा २ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको ज्यान गएको र ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार नवलपरासीबाट भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र भैरहवाबाट परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक बाक्लो हुस्सुका कारण एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा ना २ ख ८४८१ ट्रकका चालक सुनसरी चतरा वस्ने वर्ष ३५ को पुर्णबहादुर भुजेल, नवलपरासी पालीनन्दन ४ का ३० वर्षिय लालु कुर्मी, र मविकन कुर्मी रहेको प्रहरीले जनाएको छ ।

घाइते ९ मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ भने ७ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा परि घाईते हुनहरुमा तनहुँ खैरेनी ५ का विरेन्द्र गुरुङ, नवलपरासी पालीनन्दनका अकलेश यादव, मनिस धवल, शैलेस कुर्मी, त्रिभुवन हरिजन सुवाष कुर्मी , विनोद धवल, दुवई हरिजन र लु १ ख ६७४५ नम्बरको ट्रकका चालक मोहन राई रहेको प्रहरीले जनाएको छ ।चालक राई र दुवइ हरिजनको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको भैरहवा स्थित भिम अस्पताल र युनिभर्र्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्