बाह्रबिसेमा जुट्यो सहमतिः नाला छाडेर ४ फिटको फुटपाथ कायम गरिने



नानीराम नेपाल, सिनधुपाल्चोक ।

बजार व्यवस्थापनका बिषयमा बाह्रबिसे नगरपालिकामा उत्पन्न गतिरोध अन्त्य भएको छ । निश्चित मापदण्डमा रहेर बजारक्षेत्रमा सडकमै निस्किएका टप, छत र पाली हटाउन स्थानीयवासी राजी भएका छन् । १५ दिनभित्र बजारक्षेत्रमा नाला छाडेर ४ फिटको फुटपाथ निर्माण गर्न स्थानीय सहमत भएका हुन ।

बजारमा घर अगाडी निर्माण भएका अस्थायी संरचना हटाउने सम्वन्धमा मंगलबार बाह्रविसे नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सडक डीभिजन कार्यालय चरिकोटका प्रतिनीधि र सरोकारवाला सम्मीलीत बैठकबाट व्यवस्थित बजार निर्माणको सहमति जुटेको हो ।

तत्कालका लागि पक्की घर संरचनाका विषयमा केहि नगर्ने तथा फुटपाथका लागि नाला छाडेर ४ फिट कायम गर्ने सहमति भएको छ । नाला छाडेर ४ फिटसम्मको दुरी खाली गर्नुपर्ने र छत,पाली, टप जस्ता संरचना हटाउनुपर्ने निर्णय भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो ।

अबदेखि बाह्रविसे बजारमा हार्डवयर सामाग्रीका गोदाम राख्न नपाइने भएको छ । मंगलबारको बैठकले बजार क्षेत्रभन्दा बहिर नै हार्डवयर सामाग्रीका गोदाम राख्ने सहमति भएको हो । सडकमा कुनै पनि सामाग्री राख्न नपाईने र पसल अगाडी छत र पालीमा राखिएका सामान हटाउने समेत सहमति भएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ल प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन, सडक डीभिजन कार्यालय चरिकोटका प्रमुख ईन्जिनीयर बिजय महतो,सुमन बस्नेत, स्थानीय सरोकार समुहका तर्फबाट हरिशरण श्रेष्ठ,नविन श्रेष्ठ, हेमन्त श्रेष्ठ सहभागी थिए । बैठकमा वडाध्यक्षहरु र सम्वद्ध जनप्रतिनीधिहरु सहभागी थिए ।

सहमति जुटेसँगै स्वच्छ र हराभरा बाह्रविसे बजार निर्माणका लागि ढोका खुलेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो । बजार क्षेत्रमा रहेका छाप्रोहरु हटाउने र छाप्रो बनाएर बस्नेहरुका लागि बजार बाहिर जग्गाको समेत व्यवस्था गरिने मेयर शेर्पाले सुनाउनुभयो । ‘सडकको नाला छाडेर ४ फिटको फुटपाथ निर्माण गर्न बजारवासी सहमत हुनुभयो, पन्ध्र दिनमा नालामा जोडिएका संरचना हटाउने सहमति भयो’, मेयर शेर्पाले भन्नुभयो, ‘स्वच्छ, सुन्दर र व्यवस्थित बाह्रविसे निर्माणको ढोका अब खुलिसकेको छ ।’

स्वागतद्धार निर्माण गरिने

भ्रमण बर्षमा बाह्रविसे आउने पर्यटकहरुको स्वागतका लागि बजार क्षेत्रमा स्वागत द्धार समेत निर्माण गरिने भएको छ । बाह्रविसे बजारमा ४ वटा स्वागतद्धार निर्माण गर्न लागिएको मेयर शेर्पााले बताउनुभयो ।

‘पर्यटकका क्यामेरामा सुन्दर बाह्रविसे कैद होस भन्ने हाम्रो अभिप्राय हो, उहाँले भन्नुभयो ‘बजारक्षेत्रका घरहरुलाई एकै किसिमको रङ लगाउन भनेर थप सुन्दर बनाउँछौं ।’ बजार व्यवस्थापनको काम सँगै तत्काल स्वागतद्धार निर्माणको काम अघि बढाईने मेयर शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्