गणित विषयलाई नयाँ पाठ्यक्रममा समेट्न माग



काठमाडौं, (नेस)।

गणित विषयलाई नयाँ पाठ्यक्रमको प्रारूपबाट हटाइएपछि त्यसको विरोध शुरू हुन थालेको छ।सरोकारवालाले गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारूप–२०७६ बाट ओझेल पारिएको भन्दै विरोध गरेका हुन्। गणितका विज्ञहरूले गणितलाई अनिवार्य गरिनुपर्ने माग गरेका छन्।

सरोकारवालाहरूले ‘गणित विज्ञानको पनि विज्ञान’ भएको भन्दै पाठ्यक्रम प्रारूपमा समेट्नुपर्नेमा जोड दिएका छन्। सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पाठ्यक्रम विकास केन्द्र विषय समितिका अध्यक्ष प्राडा राममान श्रेष्ठले आफूसँग कुनै परामर्शसमेत नगरी पाठ्यक्रम प्रारूपको समितिमा विज्ञका रूपमा राखेको भन्दै कडा आपत्ति जनाउनुभयो।

उहाँले भन्नुभयो– ‘मलाई थाहै नदिईकन समितिमा राखिएको रहेछ, मैले प्रारूप आएपछि मात्रै थाहा पाएँ। यस्तो बैठकमा मलाई कहिल्यै पनि बोलाइएन र म गएको पनि छैन।’त्रिवि गणित केन्द्रीय विभागका प्रमुख प्राडा टंकनाथ धमलाले कम्तीमा विज्ञान पढ्ने विद्यार्थीलाई गणित अनिवार्य र अरू विषयलाई ऐच्छिक राख्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो– ‘स्कुलमा गणित विषयमा अनुत्तीर्ण भएको डेटा देखाउँदै ११ र १२ कक्षामा गणित कठिन भयो भन्नु लज्जास्पद विषय हो।’कार्यक्रममा बोल्दै नेपाल गणित समाजका सभापति प्राडा चेतराज भट्टले अहिले ल्याइएको प्रारूपमा गणित तथा विज्ञानका विद्यालाई ओझेलमा पार्नु दुःखको विषय भएको टिप्पणी गर्नुभयो।

उहाँले दातृ संस्थाले दिएका अनुदानलाई हेरेर उत्तीर्ण प्रतिशत बढाउने नाममा गणितलाई यसरी ओझेलमा पार्नु गलत भएको स्पष्ट पार्नुभयो। त्रिवि इन्जिनियरिङ संस्थानका सहायक डीन प्राडा ज्ञानबहादुर थापाले हालै त्रिविको अध्ययन संस्थानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट ५० अंक बनाइएको जनाउँदै गणितको महत्व इन्जिनियरिङ पढ्ने विद्यार्थीका लागि कति छ भन्ने कुरा पुष्टि भएको बताउनुभयो।

कार्यक्रममा त्रिवि गणित शिक्षा केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा वेदराज आचार्यले गणित विषयलाई अनिवार्यरूपमा पाठ्यक्रममा नसमेटिँदा गणित पढ्न इच्छुक विद्यार्थी वञ्चित हुनुपर्ने बाध्यता औंल्याउनुभयो।

नेपाल गणित समाजका सह–सचिव तथा केन्द्रीय गणित विभागका उपप्रध्यापक डा. जीवन काफ्लेले गणित प्राकृतिक र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग हुने विषय भएको सुनाउँदै यो विषयको जगबिना अन्य कुनै पनि विषयको दक्षता हासिल गर्छु भन्नु जगबिनाको गगनचुम्बी महलको कल्पना गर्नुमात्रै भएको टिप्पणी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्