ट्राफिक प्रहरीलाई नयाँ भवन



नेपाल समाचारपत्र, भक्तपुर।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो।उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षणसमेत गर्नुभयो।

उक्त भवन समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो। सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले प्रहरी महानिरीक्षक खनाललाई सो भवन हस्तान्तरणसमेत गर्नुभयो। समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणको क्रममा सहयोगी दाता र निर्माण समितिका पदाधिकारीलाई सम्मानपत्र प्रदान गर्नुभयो।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदायको साथ र सहयोग प्राप्त भएमा निर्माणको कार्यले तीव्रता पाउने उल्लेख गर्दै प्रहरीले प्राप्त भवनमार्फत आमनागरिकलाई प्रदान गर्ने सेवाको स्तरमा थप उत्कृष्टता आउनुपर्नेमा जोड दिनुभयो।

प्रहरीले अपराधविरुद्ध कठोररूपमा प्रस्तुत भई अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायहरू तथा नागरिकसँगको समन्वय गरेर अगाडि बढ्नुपर्ने उहाँले चर्चा गर्नुभयो।

समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकाले नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’को अवधारणा ल्याएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस अवधारणाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालनको लागि नागरिक समाजसँग समन्वय गर्दै अगाडि बढेको बताउनुभयो।
कानुनको कार्यान्वयन गरी समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रविधिसँगै मानवीय उपस्थिति पनि आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वमराज पोखरेलले नवनिर्मित सुन्दर भवनसँगै नेपाल प्रहरीको पेसागत क्षमतामा समेत थप अभिवृद्धि हुनुपर्ने चर्चा गर्नुभयो।

समुदाय प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल प्रहरीले कानुनको कार्यान्वयनमा निष्पक्षरूपमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्