बढी भीडभाड हुने ठाउँमा शौचालय बनाइँदै



काठमाडौं, (नेस)।

काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसहरूको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ।सोमबार उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको कामपा विभागीय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो।

गएको मंसिर १७ गते बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएको थियो।

बैठकमा शहरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेस्टुरेन्टलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई सार्वजनिकरूपमा सञ्चालन गर्दा हुने आपसी हितका विषयमा पनि उठान भएका थिए।

बैठकमा बोल्दै उपप्रमुख खड्गी श्रेष्ठले चालू आर्थिक वर्षमा सार्वजनिक शौचालयका निर्माणका लागि विनियोजन भएको ३ करोड रुपियाँबाट काम गरिने बताउनुभयो। यससम्बन्धी कार्यविधि सम्बन्धी प्रस्ताव आगामी कार्यपालिका बैठकमा पेस गर्ने तयारी भएको जनाउँदै उहाँले तत्काल परिणाम देखिने गरी काम थालनी गर्न वातावरण व्यवस्थापन विभागमार्फत काम अघि बढाइने बताउनुभयो।

महानगरको शहरी योजना आयोगले काठमाडौंमा उपयुक्त हुने सार्वजनिक शौचालयका ढाँचा, लागत र स्थानको अध्ययन गरिसकेको छ। ती ढाँचा लिएर उपयुक्त स्थानमा शौचालय निर्माण प्रक्रिया अघि बढाउनेछ।

बैठकले प्रशासन विभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा ‘व्यावसायिक सामाजिक उत्तर दायित्व नीति मस्यौदा कार्यदल’ गठन गरेको छ। कार्यदलको सदस्यमा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, सार्वजनिक निजी साझेदारी इकाइ प्रमुख धु्रव काफ्ले र खरिद इकाइका प्रमुख बलराम त्रिपाठी हुनुहुन्छ भने सदस्य सचिवमा उपनिर्देशक गंगाधर गौतम हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्