पूर्वाधार विकास कार्यालयमा कुकर बम विष्फोट



राम धामी, डडेल्धुरा।

डडेल्धुरा सदरमुकाम कीर्तिपुरस्थित पूर्वाधार विकास कार्यालयमा आइतबार राति साढे १२ बजे प्रेसर कुकर बम विष्फोट गरिएको छ। सशस्त्र युद्धकालीन अवस्थामा जस्तै सदरमुकाममै बम विष्फोट भएपछि स्थानीय सन्त्रस्त बनेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्र्तगतको पूर्वाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा एकाएक प्रेसरकुकर बम विष्फोट भएपछि कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा क्षति भएको छ भने राति नै घटनास्थलको बारेमा एकिन नहुँदा बिहानसम्म स्थानीयवासीलाई त्रसित बनाएको बम विष्फोटको आवाज सुन्ने स्थानीय बताउँछन्।

सुरक्षा निकायको नजिकै रहेको उक्त कार्यालयमा बम विष्फोट पछि यथाशिघ्र घटनास्थलमा पुग्नुपर्नेमा सोमबार बिहान ८ः३० बजे मात्र प्रहरी घटनास्थल पुगेको भन्दै प्रहरीले लापरबाही गरेको गुनासो स्थानीय गरेका छन्।

बम विष्फोटबाट क्षति सामान्य भए पनि घटनाले आतंकित बनाएको स्थानीय बताउँछन्। कार्यालयको बरण्डामा बम विष्फोट गराइएको र कार्यालय भवनको प्रवेशद्वारमा प्रेसर कुकर बमका टुक्राले काठको ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ।

कार्यालयनजिकैको बस्तीतिर क्षति पुग्नेगरी बम विष्फोट गराइएकोमा स्थानीयले आपत्ति जनाएका छन्। घटना जसबाट भएको भए पनि उचित नभएको स्थानीय अगुवा सुरेश भट्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्