जङ्गली हात्ती मृत अवस्थामा फेला



भद्रपुर, (नेस)।

झापाको कचनकवल ३ स्थित अभिमुक्तेश्वर सामुदायिक वनभित्र जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ। शनिबार बेलुका दाउरा टिप्न गएका स्थानीयले जङ्गलमा मृत अवस्थामा हात्ती देखेपछि प्रशासनलाई खबर गरेका थिए।

करिब एक महिनाअघि हात्ती मरेको हुनसक्ने जिल्लाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो। मृत हात्ती १२ फिट लम्बाइ, ८ फिट २ इन्च उचाइ भएको अन्दाजी ३० वर्ष उमेरभन्दा माथि रहेको डिभिजन वनका कर्मचारी डिल्लीराम खरेलले जानकारी दिनुभयो।

हात्ती आफैं मरेको वा मारिएको विषयमा अहिले केही भन्न नमिल्ने र यस विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ। हात्तीको छाला र हड्डी परीक्षणका लागि विधि परीक्षण प्रयोगशाला पठाउने जनाइएको छ।

हात्तीको हड्डी भएको टाउकाको भाग वन कार्यालय ल्याएको र मृतक हात्तीलाई त्यही पुरिदिएको छ।७० प्रतिशतभन्दा बढी सडेका कारण लिंग नछुटिएको उहाँले जानकारी दिनुभयो ।

आठ महिनाअघि साबिक जलथल गाविस १ हाल हल्दिवारी ३ स्थित रनकाली सामुदायिक वनभित्र छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु भएको थियो। २०६७ सालदेखि हालसम्म झापामा १२ वटा जङ्गली हात्तीको मृत्यु भइसकेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्