थ्रीस्टारलाई हराउँदैं मछिन्द्र शीर्षमा



नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय खेलाडीले भरिएको मछिन्द्र क्लब जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ। सोमबार भएको नवौं चरणको खेलमा मछिन्द्रले थ्रीस्टार क्लबलाई २–० गोलअन्तरले हराएको हो। यो जितसँगैं मछिन्द्रले ९ खेलमा १९ अंक जोडेर शीर्ष स्थान ओगटेको छ।

टोलीले अहिलेसम्म ६ मा जित, २ मा बराबरी र एकमा हार बेहोरेको छ। गत संस्करणको रेलिगेसनविना सञ्चालित लिगमा १३औं स्थानमा रहेकोले यस लिगमा टोलीको १ अङ्क घटाइएको छ। उता हारपछि थ्रीस्टार ९ खेलबाट १४ अङ्क लिएर चौथो स्थानमा रहेको छ।

मछिन्द्रका जितमा रेजिन सुब्बाले पहिलो हाफमा र विशाल राई ‘बी’ ले गोल गरेका हुन्। २८औं मिनेटमा दीपक राईलाई विस्थापन गरेका रेजिनले खेलको ३७औं मिनेटमा गोल गरेका थिए। यस्तै अन्तिम मिनेटमा विशालले एक गोल थपेका थिए।

प्रतिक्रिया दिनुहोस्