शेयर बजारमा दोहोरो अंकको वृद्धि



काठमाडौं, (नेस)।

अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा सोमबार भने दोहोरो अंकले नै वृद्धि भएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलब ९५ अंकले बढेर १३०० दशमलब ६२ बिन्दुमा पुगेको छ।

आइतबार नेप्से परिसूचक २० दशमलब ७९ अंकले ओरालो लागेर १२७६ दशमलब ६८ बिन्दुमा झरेको थियो। यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलब ५३ अंकले वृद्धि भई २७९ दशमलब १५ बिन्दुमा पुगेको छ।

सोमबार कुल १ सय ८० कम्पनीको २४ लाख ९ हजार कित्ता शेयर ९१ करोड ७३ लाख रुपियाँभन्दा बढी मूल्यमा कारोबार भएको छ। यस दिन कारोबार भएका १२ वटै समूहको परिसूचकमा वृद्धि भएको छ। सोमबार बैंकिङ समूह १८ दशमलब शून्य १, व्यापार समूह ३४ दशमलब ५९, होटल समूह ८३ दशमलब ३२, विकास बैंक समूह ४३ दशमलब ८१, जलविद्युत् समूह १९ दशमलब ५१, वित्त समूह २ दशमलब ८६, निर्जीवन बीमा समूह १४९ दशमलब ७६, उत्पादन समूह ९ दशमलब ८६, अन्य समूह ५ दशमलब १५, लघुवित्त समूह ६६ दशमलब ४३, जीवन बीमा समूह १७४ दशमलब शून्य ३ र सामूहिक लगानी कोष समूह शून्य दशमलब शून्य ४ अंकले वृद्धि भएको छ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८ करोड १४ लाख रुपियाँको शेयर कारोबार भएको छ। त्यस्तै समिट लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ७ दशमलब ७९ प्रतिशतले कमाएका छन् भने जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ३ दशमलब शून्य ७ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्