एनसेलका दर्जन टावरमा आगजनी



काठमाडौं, (नेस)।

देशका विभिन्न भागमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरी क्षति पु¥याएको छ। प्राप्त समाचारअनुसार आइतबार रातिमात्रै एनसेलको करिब एक दर्जन टावरमा आगजनी भएको हो। प्रहरीका अनुसार सल्यानका दुई स्थानमा एनसेलको टावरमा आगजनी भएको छ। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–४ देउलीमा रहेको एनसेलको टावरमा अपरिचित समूहले आगजनी गरेको छ।

टावरमा सञ्चालन गर्न राखिएको जेनरेटर र बीटीएसको तार काटेर आगजनी गरिएको प्रहरीले जनाएको। जिल्लाकै शारदा नगरपालिका–१३ लेखटाकुरामा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ। यसैगरी चितवनको खैरहनी नगरपालिका–२ मा रहेको एनसेल टावरमा आगजनी भएको छ।

आगजनीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ। दमकल, नेपाल प्रहरी र स्थानीयबासीको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको थियो। त्यस्तै सिन्धुलीको मरिण गाउँपालिका–७ मा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ भने रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–७ गुम्सीमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

आइतबार राति नै पाल्पाको बगनासकाली गाउँपालिका–९ स्थित बगनासडाँडामा रहेको एनसेलको टावरमा आगजनी भएको छ। आगलागीबाट टावरमा पूर्णरूपमा क्षति पुगेको छ। टावरको जेनेरेटर, बिटिएस सिस्टम, जीएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्ससहित तार पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ।

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरमा रहेको एनसेल टावरमा विस्फोट गराइएको छ। आइतबार राति एनसेल टावरमा विस्फोट गराउँदा सोलार प्यानल, युपीएस तथा तारमा क्षति पुगेको प्रहरीले जनाएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–९ करमैनीस्थित एनसेल टावरमा आगजनी भएको प्रहरीले जनाएको छ। आगजनीबाट टावरको अगाडि भागको तार जलेको छ।

प्रतिक्रिया दिनुहोस्