‘होम स्टे’लाई हौसला



‘होम स्टे’ अर्थात् घरेलु सुविधाका साथ गरिने अस्थायी बसोबास । स्थायी घरबास भएको एक स्थानबाट अर्को स्थानमा अस्थायीरूपमा भ्रमण गरी कम्तीमा २४ घण्टा समय बिताई त्यहाँको आवास, खाना आदि सेवा उपभोग गर्ने कार्य होम स्टेमा पर्दछ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा अहिले नेपाल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू होम स्टेप्रति आकर्षित बन्दै गएका छन् । सुलभ मूल्यमा नेपाली जनजीवनसँग घुलमिल हुन पाउने भएकाले होम स्टेले विदेशी पाहुनालाई लोभ्याएको छ ।

गाउँघरको कला, संस्कृति हेर्न र समाज बुझ्न पाइने अवसर होम स्टेबाहेक अन्य विकल्प छान्ने पर्यटकले सायदै पाउँछ । यही आकर्षणका कारण नेपालका विभिन्न गाउँमा अहिले होम स्टे मौलाएको छ । यसैको एउटा उदाहरण पर्वत जिल्लाको गाउँघरमा सञ्चालित होम स्टे पनि हो ।

शहरको व्यस्तता, कोलाहल जीवनशैली र तनाव कम गर्न गाउँघरका होम स्टेमा बास बस्न जानेहरू विदेशी मात्र होइन, नेपालीहरू पनि छन् । गाउँमा नै पाइने विषादी प्रयोग नगरिएका परिकार खान पाउँदा र स्थानीय कला–संस्कृतिको आनन्द उठाउँदा पर्यटकहरूले जुन सन्तुष्टि व्यक्त गर्छन्, त्यसले नै यसका सञ्चालकहरू हौसिने गर्दछन् ।

स्थानीय समुदायमा स्थापना भएका होम स्टेका कारण यसका सञ्चालकको मात्र नभई स्थानीय दूध, तरकारी, फलफूल तथा मासुजन्य वस्तुहरू उत्पादन गर्ने किसानहरूको आयआर्जनमा पनि वृद्धि हुन थालेको छ । राम्रो गाउन र नाच्न जान्ने युवायुवतीको समेत आयआर्जनको स्रोत बढेको छ । खाली भएका गाउँघरका बस्तीहरू विस्तारै भरिँदै छन् । हराउँदै गएको पुरानो गीतसंगीत र संस्कृतिको संरक्षण हुन थालेको छ ।

मौलिक भेषभूषा र संस्कृतिबाट होम स्टेमा आउने पाहुनाहरू मोहित हुने गरेका छन् । २०५४ सालमा तत्कालीन सांसद तथा सेनाका कप्तानसमेत रहेका स्वर्गीय रुद्रमान गुरुङले नेपालमा पहिलो पटक होम स्टे शुरूआत गर्नुभएको थियो ।

त्यस ठाउँमा गुरुङ जीवन शैलीको जीवन्त चित्रण अवलोकन गर्न पाइने र स्थानीयरूपमा उत्पादित सागसब्जीबाट बनाइएको खानाले पाहुनाको सत्कार गरिन्छ । यसैलाई उदाहरणका रूपमा लिएर करिब साढे दुई दशकभित्र विभिन्न गाउँघरमा फैलिँदै गएको हो ।

होम स्टे नेपालको साधारण जनतालाई पर्यटनसँग आबद्ध गर्ने प्रक्रिया हो । यस प्रक्रियासँग हाम्रो संस्कृतिको भौतिक विधाका रूपमा रहेका मठमन्दिर र धर्मशाला तथा वास्तुकला पनि पर्दछन् । मेला–पर्वलाई पनि यसकै अवयव मान्नुपर्दछ । संस्कृति हाम्रो पहिचान हो । त्यो पहिचानलाई व्यापारमा प्रयोग गर्ने कार्यले पर्यटकीय अभिवृद्धिको सम्भावना स्वाभाविक छ ।

होम स्टेलाई प्रभावकारी र व्यापक बनाउन समुदायले अन्तर्राष्ट्रिय पर्यटकसँग सम्बन्ध कायम गर्ने क्षमता विकास गर्नुपर्ने हुन्छ । सिरुबारी र घले गाउँमा होम स्टे सफल हुनुमा यही कारण रहेको छ । अझै पनि नेपालको धेरै समुदाय पर्यटनको सेवा प्रदान गर्नसक्ने क्षमतामा पुगेको छैन ।

यसका लागि संघ, प्रदेश र स्थानीय तहले अभिमुखीकरण र तालिममा जोड दिनुपर्ने देखिन्छ । विदेशीसँग सामान्य संवाद गर्ने अवस्थामा पनि नभएका गाउँलेसँग अनेक पूर्वाधार भए पनि पाहुनालाई प्रसन्न पार्ने क्षमताको अभाव हुन्छ भन्ने सत्य बिर्सनुहुन्न ।

प्रतिक्रिया दिनुहोस्