कोरोना भाइरस नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन



कोरोना भाइरस संक्रमितको उपचार र सजकताका लागि पूर्वतयारीमा जुट्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ। उहाँले प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्री र सचिवलाई बोलाई सजगकता अपनाउन निर्देशन दिनुभएको हो।

चीनको हुबाई प्रान्तबाट फर्किएका नेपाली विद्यार्थीमा कोरोनाभाइरस पुष्टि भएकै दिन अर्का एक नेपालीमा पनि संक्रमणको आशंका गरिएलगत्तै प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो।पहिलोपटक १० माघ २०७६ का दिन चीनबाट नेपाल फर्किएका नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो।

विमानस्थलमा परीक्षणका क्रममा लक्षण देखिएपछि उनी टेकु अस्पतालमा भर्ना गरिएका थिए। नमुना परीक्षणका लागि हङकङ पठाइएकामा नतिजा पोजेटिभ आएको हो। बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ।

यतिबेला नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सतर्कता बढाएकै कारण विमानस्थलमा हेल्ड डेस्को स्थापना गरी हेल्थ डेस्कमा ३ चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मी खटाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तर नेपालमा यो रोगको भाइरस परीक्षण अहिलेसम्म भइनसकेको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वदेशमै भाइरस परीक्षणको तयारी गरिरहेको जनाएकोछ। यसका लागि विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगको खाँचो रहेको प्रयोगशालाका कर्मचारी बताउँछन्।

यता उपचारमा संलग्न चिकित्सक तथा कर्मचारीहरूको सुरक्षा कसरी अपनाउने भन्ने बारेमा विश्व स्वास्थ्य संगठनले समेत ठोस निष्कर्ष निकाल्न सकेको पाइन्न।नेपालसँग कोरोना भाइरस परीक्षण गर्ने उपकरण (पीसीआर) मेसिन छ तर जाँच गर्न आवश्यक केमिकल भने नभएका कारण दाताको मुख ताक्न नेपाल बाध्य छ।

टेकु अस्पतालबाट एकजनाको डिस्चार्ज भएसँगै तीन जना उपचाररत भएको बुझिएको छ।यो रोग फ्रान्स, अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, भारत, हङकङलगायत १३ देशमा देखापरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कोरोनाबाट प्रभावित चीन बिरामीलाई घरबाहिर नजान निर्देशन दिँदै घरदैलो अभियानसहित चिकित्सक टोली खटाएको बुझिएको छ।

यता विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमण आपत्काल घोषणाको अवस्थामा पुगिनसकेको जनाएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल समितिको बिहीबारको बैठकमा ‘ग्लोबल हेल्थ इमर्जेन्सी’ घोषणा गर्ने–नगर्ने विषयमा मत बाझिएको थियो।समितिले ठोस निर्णय दिन नसकेपछि विश्व स्वास्थ्य संगठनले चीनमा आपत्काल घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको जनाएको छ। अन्य मुलुकका विषयमा भने संगठनले केही बोलेको छैन।

मानिसबाट मानिसमा सर्ने यो कोरोना भाइरसको संक्रमण फैलिएसँगै चीन सरकारले उहान राज्यलाई बन्द गरेको छ। उहानबाट छुट्ने विमान, रेल, बस, डुंगामा प्रतिबन्ध लगाइएको छ। शहरबासीलाई अन्यन्त जरुरी नपरी घरबाट ननिस्कन निर्देशन दिइएको छ।

मानव स्वास्थ्यमा देखापरेका ठूलाठूला समस्यालाई लिएर विश्व स्वास्थ्य संगठनले इन्फ्लुएन्जाको महामारी फैलिएको समय सन् २००९ मा पहिलोपटक ग्लोबल हेल्थ इमर्जेन्सी घोषणा गरेको थियो।

त्यसै गरी सन् २०१४ मा दुईपटक विश्व स्वास्थ्य समस्या घोषणा गर्दा पाकिस्तान, अफगानिस्तान, नाइजेरियालगायत देशमा पोलियो खतराको अवस्थामा देखियो।

त्यसै वर्ष पश्चिमी अफ्रिकामा इबोलाको महामारी फैलिएपछि दोस्रोपटक विश्व स्वास्थ्य समस्या घोषणा गरियो। साथै सन् २०१६ मा जिका भाइरसले महामारीको रूप लिएपछि विश्व स्वास्थ्य समस्या घोषणा गरियो। पछिल्लोपटक सन् २०१९ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोलाले प्रकोपको रूप लिएपछि विश्व स्वास्थ्य समस्या घोषणा गरियो।

नेपाली दूतावासले चीनमा रहेका नेपालीलाई सावधानी अपनाउन आग्रह गरेको छ।चीनस्थित नेपाली दूतावासले चीनमा रहेका नेपालीलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ। दूतावासले बिहीबार सूचना जारी गर्दै चीनमा रहेका सम्पूर्ण नेपालीलाई सावधानी अपनाउन अपिल गरेको हो।
दूतावासले भाइरसको संक्रमणबाट बच्ने तरिकासमेत बताएको छ। सावधानीका उपाय अपनाउँदै चीन सरकार स्वास्थ्य मन्त्रालयले अद्यावधिक गर्ने सूचनाहरू लिइरहन भनेको छ। सहयोग आवश्यकपरेको खण्डमा दूतावास तथा विभिन्न शहरमा रहेका नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र्र श्रेष्ठका अनुसार सरकारले पूर्ण तयारी गरिसकेको छ कोरोनाबाट डराउनुपर्दैन। त्यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमणबाट बँच्न सफा रहनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्