कलेजो प्रत्यारोपण  दोस्रो सफलता



शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पाँचौं कलेजो प्रत्यारोपण गत २८ पुस २०७६ मा सफलताका साथ सम्पन्न गरेको छ। सर्लाहीका ६२ वर्षीय योगेन्द्र महतोलाई उनका छोरा ३५ वर्षीय पंकज महतोले कलेजो दान दिएका हुन्।

सो प्रत्यारोपणमा ३० जना चिकित्सक तथा नर्सहरूको टोलीको संलग्नता थियो। भारत नयाँ दिल्लीस्थित म्याक्स हेल्थकेयरको कलेजो विभाग प्रमुख तथा कलेजो प्रत्यारोपण विशेषज्ञ, डा. सुभास गुप्ताले भारतीय टोलीको नेतृत्व गर्नुभएको थियो भने नेपाली टोलीको नेतृत्व केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठले गर्नुभएको थियो।

सो प्रत्यारोपणमा भारतबाट पाँच जना प्राविधिकको टोली संलग्न रहेको थियो भने नेपाली टोलीमा डा. आरती राई, डा. निरज जोशी, डा. सञ्जय यादव, डा. जयन्तकुमार शाह, डा. निभा श्रेष्ठ, डा. अनिषा तिवारी, डा. सपना वर्मा, डा. रोशन घिमिरे, डा. कर्ण राजवंशी, डा. रश्मित श्रेष्ठ, डा. अच्युत खनाल, कोपिला दाहाल, बबिता लबजू, अनिता कार्की, विनिता उप्रेतीलगायतको टोली संलग्न थियो। केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार अब उप्रान्त कम्तीमा महिनाको एउटा कलेजो प्रत्यारोपण गर्ने योजना रहेको छ।

नेपाललाई मानव शरीरको अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउने उदेश्यका साथ मिति २०६९ वैशाख ११ गते स्थापना भएको यस केन्द्रले नेपालमा पहिलोपटक २२ मंसिर २०७३ (७ डिसेम्बर २०१६) मा ऐतिहासिक कलेजो प्रत्यारोपण सेवा शुरू गर्नुका साथै केही समयपश्चात् मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला तथा कलेजो प्रत्यारोपण पनि सम्पन्न गरेको थियो।
पहिलोपटकको कलेजो प्रत्यारोपणमा दक्षिण कोरियाली विशेषज्ञ टोलीको सहयोग प्राप्त भएको थियो साथै हप्तामा अधिकतम ६ देखि ८ वटा सम्म मिर्गौला प्रत्यारोपण गर्ने गरेको यस केन्द्रले आर्थिक वर्ष २०७५/७६ मा १ सय ७९ जनाको मिर्गौला प्रत्यारोपण गरेको थियो।
हालसम्म ६ सय ८० जनाको मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ सम्पन्न गरेको छ, यद्यपि केही सयमयता विविध कारणले प्रत्यारोपण सेवामा केही कमी आएकोमा आगामी हप्तादेखि पुनः पूर्ण क्षमताका साथ प्रत्यारोपण सेवा सुचारु गर्ने तयारी गरेको छ।

हरेक वर्ष नेपालमा करिब १ हजार जनाभन्दा बढीको कलेजो फेल हुने अनुमान गरिएको छ। नेपालमा करिब २० लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गर्दछ भने भारत तथा अन्य विकसित देशहरूमा कलेजो प्रत्यारोपण गर्दा करिब १ करोडदेखि डेढ करोडसम्म खर्च लाग्ने अनुमान छ।

एक अध्ययनका अनुसारका नेपालमा करिब ८ लाख मानिसमा कलेजोसम्बन्धी केही न केही रोग लागेको देखिन्छ भने करिब १० हजार जनामा कलेजोसम्बन्धी गम्भीर रोग लागेको (कलेजो फेल) अनुमान छ। ‘नेपालमा कलेजो फेल हुनुको मुख्य कारण अधिकरूपमा मदिरा सेवन गर्नु हो।’ –डा. श्रेष्ठ भन्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्