रसुवागढी नाकाबाट साढे दुई किलो सुनसहित ६ पक्राउ



सरस्वती न्यौपाने, रसुवा

रसुवागढी नाकाबाट सोमबार साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन। प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३२ वर्षीय सुवास तामाङ, १९ वर्षीय साङा तामाङ र दोलखा तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायाण श्रेष्ठ रहेका छन्।

रसुवागढी नाकाबाट काठमाडौ जाँदै गरेको ना१झ ३५४२ नं.को टाटा सुमोमा लुकाईछुपाई लैजाँदै छ भन्ने विशेष सुराकीको आधारमा करिव दिउँसो ३ बजे नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नाकामा चेकजाँच गर्दा सुन भेटिएको बताइएको छ।

पक्राउ परेको सुनको मूल्य करिव १ करोड ६० लाख मुल्य बराबरको रहेको छ। २०७२ सालको भूकम्पले तहस नहस पारेपछि नेपाल र चीन जोड्ने मार्गको रूपमा विस्तार भइरहेको रसुवागढी नाकामा पछिल्लो समय सुन तस्करी बढेको हो।

पक्राउ परेका चालकसहित ६ जनालाई सदरमुकाम धुन्चे ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्