एलआईसी इन्डिया टाटपल्टिने अवस्था

‘भ्रामक’ भन्दै एलआईसी नेपालले ढाँट्यो



परिवर्तन देवकोटा, काठमाडौं।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले एलआईसी इन्डिया डुब्दै छ भनी प्रकाशित सत्य समाचारलाई ‘भ्रामक’ भन्दै ढाँटेको छ। विभिन्न सञ्चारमाध्यमले एलआईसी इन्डिया डुब्दै छ भनी आइतबार र सोमबार प्रकाशन गरेको समाचारको खण्डन गर्दै एलआईसी नेपालले एक विज्ञप्ति प्रकाशित गरी खण्डन गरेको थियो।


तर, भारतबाट प्रकाशित टाइम्स अफ इन्डिया, टेलिग्राफ, इकोनोमिक टाइम्स, बीबीसीलगायतका सञ्चारमाध्यमले समेत एलआईसी इन्डिया डुब्न लागेको समाचार प्रकाशित गरेका छन्।

प्रकाशित समाचारमा भारतीय दल कांग्रेस आईका अध्यक्ष, प्रभावशाली नेता दिग्विजय सिंहलगायतका भनाइ उद्धृत गर्दै सो समाचार प्रकाशित गरेका छन्। एलआईसी इन्डियाबारे भारतीय कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहले नरेन्द्र मोदी सरकारको गलत नीतिका कारण कम्पनी धराशयी भएको टिप्पणी गर्नुभएको छ।

‘केन्द्रको नीतिका कारण एलआईसी समस्याग्रस्त बनेको छ।’ –नेता सिंहको भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको छ। एलआईसीका संघीय अध्यक्ष देवीशंकर शुक्लाको तर्फबाट सिंहले भोपालस्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एलआईसी समस्याग्रस्त बनेको दाबी गर्नुभएको टाइम्सले लेखेको छ।

यसअघि कांग्रेस अध्यक्ष गान्धीले पनि नरेन्द्र मोदी नेतृत्वको सरकारको नीतिका कारण एलआईसीमा नोक्सानी पुगेको र कम्पनीप्रति नागरिकको विश्वास गुम्दै गएको टिप्पणी गर्नुभएको समाचार प्रकाशित भइसकेको छ।

यस्तै, एसिया टाइम्सले पनि कम्पनी डुब्न लागेको समाचार प्रकाशित गरेको छ। टाइम्सले भनेको छ, सेप्टेम्बर २०१९ को विवरणअनुसार  कम्पनीको खराब डेब्ट्स ६ दशमलव १ प्रतिशत रहेको छ।

अन्य वित्तीय सूचकहरू समेत नकारात्मक देखिएको भन्दै यसबाट कम्पनी खस्कँदो अवस्थामा झरेको उसले जनाएको छ।  विगत पाँच वर्षदेखि कम्पनीको पोलिसी होल्डरको संख्या समेत घट्दो दरमा रहेको टाइम्स अफ इन्डियाले समाचार प्रकाशन गरेको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)मा लगानी गरेका लगानीकर्ताहरू यसबाट सशंकित बनेका छन्। भारतीय लगानी आधाभन्दा बढी रहेकाले त्यो संस्था बन्द भएमा आफूहरूको लगानी खेर जाने चिन्तामा लगानीकर्ता छन्।

यस्तै नेपालस्थित कम्पनीमा बीमा गराएका बिमितहरू पनि  ससंकित बनेका छन्। भारतीय सञ्चारमाध्यममा यससम्बन्धी थुप्रै समाचार प्रकाशित भइसकेका छन्।

यसको लगानी रहेको कम्पनीलाई पर्ने असरबारे नेपाल समाचारपत्रले समाचार बनाउँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले खण्डन गरेको छ। आधाभन्दा बढी लगानी रहेको कम्पनी डुब्न लागेको स्पष्ट देखिएकोबारे एलआइसी नेपाल अनभिज्ञ जस्तो बनी समाचारको खण्डन गरेको हो।

 गर्ला लगानी फिर्ता ?

एलआइसी इन्डियाले नेपालको बीमा कम्पनीमा ५५ प्रतिशत लगानी गरेको छ। सो कम्पनीले आफूलाई सहज हुने सोचेर लगानी फिर्ता गर्न पनि सक्ने सरोकारवालाहरूले बताउन थालेका छन्। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं प्रक्रिया पूरा गरेर आएको खण्डमा कम्पनीले लगानी फिर्ता गर्न सक्ने बताउनुहुन्छ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘कानून आकर्शित हुने विभिन्न प्रावधानअनुसारको प्रक्रिया पूरा गरेर सो कम्पनीले निवेदन दिए उसले लगानी फिर्ता लैजान सक्छ।’

शेयर होल्डरहरु डराउँदा केही दिन बजारमा कारोबार घट्न सक्ने भएपनि दीर्घकालीन रूपमा कुनै असर नपर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो,‘नेपाल स्टक एक्सचेन्जमा नै उसले शेयर बिक्री गर्ने हो, यसबाट केही दिन कारोबार त घट्ता तर असर गर्दैन।’

यो पनि पढ्नुहोस्…

भारतीय बीमा कम्पनी डुब्दै, नेपालमा त्रास

प्रतिक्रिया दिनुहोस्