कोबेको निधनले खेल जगत नै दुःखित



लन्डन ।
पाँच पटकको एनबीए च्याम्पियन कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा परी असामयिक निधन भएको थियो । सोमबार बेहान भएको दुर्घटनामा उनकी १३ वर्षीया छोरी समेत गरी ९ जना यात्रुको ज्यान गएको थियो । बास्केटबलका लिजेन्ड खेलाडी ब्रायन्टको असामयिक निधनले खेल जगत नै दुःखित बनेको छ ।

ब्राजिली फरवार्ड नेयमारले पेरिस सेन्ट जर्मेनलाई जित दिलाउँदा ब्रायन्टलाई सम्झेका थिए । गोल गरेपछि उनले एक हातको दुईँ औंला र अर्को हातका चार औंला उठाएका थिए । उनले ब्रायन्टले लगाउने लस एन्जेल्स लेकर्स जर्सी नम्बर २४ लाई संकेत गरेका थिए । यस्तै गल्फका १५ प्रमुख प्रतियोगिताका विजेता टाइगर वुड्सले सो दुःखद समाचार सुन्दा क्यालिफोर्नियामा फार्मस् इन्स्युरेन्स ओपन खेलिरहेका थिए । उनले भने–यो अविश्वसनीय दुःख हो ।

इंग्ल्यान्डका पूर्व क्याप्टेन डेविड बेकहामले इन्स्टाग्राममा पोस्ट गर्दै उनको सम्झना गरेका थिए । उनले लेखेका थिए—उनी खेलाडी, श्रीमान, बुबा र साथी थिए । मैले यति लेख्न पनि गाह्राे  भइरहेको छ तर हामीले राम्रो मान्छे गुमाउनुका साथै उनकी राम्री र प्रतिभावान छोरी गियानालाई पनि गुमाउनु निकै पीडादायक बनेको छ । पूर्व हेभीवेट बक्सिङ च्याम्पियन माइक टाइसनले ट्वीटरमा लेखेका थिए—लिजेन्डलाई गुमायौं, कुनै शब्द छैन । म दुःखित छु । रिप कोबे ब्रायन्ट, गियाना र बाँकी यात्रुलाई ।

यसैगरी बार्सिलोनाका फरवार्ड लियोनल मेसीले इन्स्टाग्राममा लेखे–मसँग कुनै शब्द नै छैन….कोबेका परिवार र साथीहरुका लागि मेरा माया । तपाईँसँग भेटको र केही शुभ समय साथ बिताउन पाएकोमा म खुशी थिए । तपाई केही जिनियस मध्ये एक थिए । युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले मुटुको ढुकढुकी नै रोकिने दुःखित समाचार भन्दै बताए—ब्रायन साँचो लिजेन्ड र प्रेरणादायी थिए ।

यस्तै अस्ट्रेलियन ओपन टेनिस प्रतियेगितामा खेलिरहेका राफाल नाडालले ट्वीटमा उल्लेख गरेका थिए—विश्वकै एक महान खेलाडीको निधनको डरलाग्दो खबरसँगै बेहान उठेँ, म एकदमै स्तब्ध भएँ । मेरो समवेदना उनकी श्रीमती र परिवारलाई छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्