राष्ट्रपति रनिङ्गशिल्ड तथा मेयरकप फुटबल संचालनमा



विष्णु तिमिल्सिना, बर्दिया ।

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा अन्तर मा.वि. नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड तथा दोस्रो मेयरकप फुटबल प्रतियोगिता पाञ्चजन्य मा.वि. पदनाहाको खेल मैदानमा संचालन भई रहेको छ ।

बारबर्दिया नगरपालिका कार्यालयको आयोजना र श्री पाञ्चजन्य मा.वि. पदनाहा (वडा नं.४)को सह आयोजनामा भईरहेको सो प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य सन्त कुमार थारुले एकभव्य समारोहका बीच गर्नु भयो । उद्घाटन मनतव्य दिनुहुँदै सांसद थारुले खेलकुदको माध्यमबाट युवाहरु मा खेल प्रतिभाको विकास हुनुका साथै नियम र अनुशासनमा रहन सिकाई हुने कुरा बताउनु भयो । नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारुको सभापतित्वमा भएको उक्त समारोहमा सहभागि विद्यालयहरु बाट मार्चपास तथा झाँकी प्रर्दशन गरिएको थियो । साथै विद्यालयको तर्फबाट स्थानीय तथा राष्ट्रिय सँस्कृति झल्कने नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

नगर क्षेत्र भित्रका १७ वटा माध्यमिक विद्यालयहरु को सहभागिता रहेको सो प्रतियोगितामा रनिङ्ग शिल्ड एथलेटिक्स तर्फ छात्र छात्राहरु गरी ६ वटा शिल्ड, भलिबल तर्फ ६ वटा शिल्ड, फुटबल तर्फ ६ वटा शिल्ड र १६ वटा इभेन्टमा करिब २ सय जति पदकहरुका लागि प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगिता अन्तरगत पहिलो दिन भएको सटपट खेलमा छात्रा तर्फ जनता मा.वि. रम्भापुरकी निरुता चौधरी प्रथम, पाञ्चजन्य मा.वि. की मन्जु चौधरी द्धितिय र युवक मा.वि. जोगिगाउँकी जनककुमारी चौधरी तृतिय भएका छन् भने छात्र तर्फ पाञ्चजन्य मा.वि का जिवन थारु प्रथम, जनता मा.वि. रम्भापुरका युवराज खड्का द्धितिय र सरसस्वती मा.वि. जमुनियाका निखिल चौधरी तृतिय भएका छन ।

उक्त समारोहमा प्रदेश नं. ५ का प्रदेश सभा सदस्यहरु तिलकराम शर्मा, कुल प्रसाद पोखरेल, भुवनेश्वर थारु, नेपाली कांग्रेस बर्दियाका कार्य वाहक सभापति मिश्रीलाल यादव, नेकपा जिल्ला सचिवालय सदस्य रामसोहन थारु, बारबर्दिया न.पा. का उप–प्रमुख अन्जु दहित, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, शिक्षा शाखा प्रमुख टेकप्रसाद पाण्डे लगायतका वक्ताहरुले शुभकामना मनतव्य व्यक्त गर्नु हुँदै विद्यार्थीहरु लाई स्वस्थ प्रतिस्पर्धा गरी खेलकुद खेल्नु पर्ने र खेलले शरीरलाई सँधै स्वस्थ राख्न मद्धत गर्ने कुरा बताउनु भयो । वक्ताहरुले खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा समेत भाग लिन सक्ने सिप तथा क्षमताको विकास गर्न शुभकामना पनि दिनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्