लेखापरीक्षकको मृत्यु प्रकरणमा आफन्तले प्रहरी गुहारे



सरोज यादव, विराटनगर ।

सिंघीया खोलामा मृत भेटिनुभएका विराटनगरका लेखापरीक्षक प्रबल घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान प्रभावकारी रुपले अघि नबढेको आफन्तले गुनासो गरेका छन् ।

घटनाको एकसाता बित्न लाग्दासमेत मृत्युको रहस्य खुल्न नसक्नु दुखद रहेको उनीहरुको भनाइ छ । यही माघ ७ गते विराटनगर तीनपैनीस्थित सिंघीया खोलामा मृत भेटिएका विराटनगर–२ का ५० वर्षिय लेखापरीक्षक प्रबल घिमिरेको मृत्यु प्रकरण रहस्यमय रहे पनि त्यसअनुसार प्रहरी अनुसन्धानले गति नलिएको आफन्तले गुनासो गरेका छन् ।

एक सातासम्म घटनाको विषयमा प्रहरीले खुलासा गर्न नसकेको भन्दै आफन्तले प्रशासन गुहारेका छन् । यथाशक्य छिटो छानबिन र अनुसन्धान गर्न माग गर्दै मोरङ जिल्ला प्रशासन कार्यालय पुगेका आफन्तले सो बिषयको ज्ञापनपत्र बुझाएका छन् ।

विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेलसहित नेकपाका नेता बाबुराम कार्की र मृतक घिमिरेका आफन्तले मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र बुझाउनुभयो ।

ज्ञापनपत्र बुझाउँदै नेकपाका नेता कार्कीले घटनापछि अनुसन्धानले अपेक्षित गति नलिएको गुनासो गर्नुभयो । मृतक घिमिरेका दाजु रबिन घिमिरेले ६ गते साँझ साथीहरुसँग हिँडेका आफ्ना भाइ मृत भेटिनु शंकास्पद रहेको बताउनुभयो । सँगै गएका सबै जना सकुशल घर फर्किए पनि आफ्ना भाइ खोलामा मृत भेटिनु र उनले बोकेको मोबाइलसमेत हराउनुले भाइको हत्या भएको हुनसक्ने आशंका ब्यक्त गर्नुभयो ।

घटनाको अुनसन्धान प्रगतिको बिषयमा प्रतिक्रिया दिनुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाले घटनाका बिषयमा ७ जनासंग सोधपुछ गरिएको थप अनुसन्धानलाई अघि बढाइएको जानकारी दिनुभयो ।

६ गते साँझ साथीहरुसँग भोज खान भन्दै हिँड्नुभएका प्रबल साढे १० बजेपछि परिवारसंग सम्पर्क विहीन हुनुभएको थियो । विराटनगरकै एक होटलमा साथीहरुसँग पार्टी खानुभएका घिमिरे त्यसपछि साथीकै कारमा रातको साढे १० बजे गोल्छाचोकसम्म आएको र त्यहाँ उत्रिएको जनाइएको छ । त्यसको केही समयपछि नै आफूले घरको बाटो बिर्सिएको भन्दै श्रीमती मुना घिमिरेलाई मोबाइलबाट कुरा गरेको आफन्तले बताएका छन् ।

सो रात खोजतलास गरेपनि नभेटिएका उनको शव माघ ७ गते घरभन्दा ५ सय मिटर पुर्वदक्षिण सिंघीया खोलामा भेटिएको थियो । घटनाको रातमा गोल्छाचोकबाट घरतर्फ फर्किदै गर्नुभएका घिमिरेको सिसि टिभि फुटेज समेत भेटिएको छ । फुटेजमा सामान्यरुपमा उहाँ हिँडिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्