प्रधानमन्त्री ओलीद्वारा ‘नेपाली पोर्ट’को उद्घाटन



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिंहदरबारस्थित एक्सन रूमबाट रिमोट थिचेर ‘नेपाली पोर्ट’ नामक सफ्टवेयरको उद्घाटन गर्नुभएको छ ।

नेपालको अध्यागमन प्रणालीलाई समयानुकूल सुधार गर्ने कार्ययोजनाअनुसार ‘नेपाली पोर्ट’ विकास गरिएको हो । योसँगै आउने र जाने स्वदेशी तथा विदेशीको बायोमेट्रिक सूचना (औँठाछापलगायत) अध्यागमन प्रणालीमा सुरक्षित रहनेछ ।

नेपालमै नयाँ भएको यस सफ्टवेयरमार्फत् राहदानी विभागले जारी गर्ने राहदानी, वैदेशिक रोजगार विभागले दिने श्रमस्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर र इन्टरपोलसम्बद्ध सूचना सिस्टममै हुने र कम्प्युटरबाट सहजै हेर्न सकिनेछ । विदेशस्थित कूटनीतिक नियोगबाट समेत यही प्रणालीभित्र रहेर भिसा जारी गरिने बताइएको छ ।

योसँगै भिसा आवेदनमा लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ भने विदेशी नागरिक नेपाल बस्दा अनुगमन गर्न सकिने अध्यागमन विभागले जनाएको छ । त्यसका लागि ट्राकिङ गर्न छुट्टै मोडुलको विकास गरिएको छ । भिसा दस्तुर समेत अनलाइनबाटै तिर्न सकिने गरी अनलाइन पेमेन्ट विकास गरिएको अध्यागमन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्