कोरोना भाइरस : उच्च सतर्कता अपनाउन चिकित्सक र सरकारको सुझाव



चितवन । उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् ।

रुघाखोकीबाट शुरु हुने धेरै रोग चितवनमा देखिने गरेको पाइएको छ । यही जिल्लाको सरकारी भरतपुर अस्पतालमा वरिष्ठ फिजिसियनका रुपमा कार्यरत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारी समयमै उच्च सतर्कता अपनाउन सकेमा सङ्क्रमणबाट बच्न सकिने बताउनुहुन्छ ।

कोरोना भाइरसले रुप परिवर्तन गरेकाले यसको छुट्टै औषधि र सुई ९भ्याक्सिन० भने नभएको उहाँको भनाइ छ । अधिकारीको भनाइमा यो भाइरस सन् १९६० मा पत्ता लागेको थियो । ग्रिक शब्दमा कोरोना भन्नाले माला भन्ने बुझिन्छ । यो भाइरस ड्रिफ्ट (सामान्य परिवर्तन) नभएर सिफ्ट (ठूलो परिवर्तन) भएकाले महामारीको जोखिम भने भएको उहाँले बताउनुभयो ।

नयाँ दशकसँगै यो भाइरस चीनको वुहानबाट देखिएको भन्दै उहाँले भन्नुभयो, “मङ्गोलियन देशहरु मकाउ, ताइवान, कोरिया, थाइल्यानडलगायत देशमा मध्यम र अमेरिका, अष्ट्रेलिया, नेपालजस्ता देशहरुमा न्यून देखिएको छ ।” धेरै सङ्क्रमित भएको चीनसँग सीमा जोडिएको देश भएकाले नेपालीहरुले तीनवटा कुरामा विशेष ख्याल गर्न उहाँले सुझाव दिनुभयो । व्यक्तिगत सरसफाइ र खानपानमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।

राम्रोसँग साबुनपानीले हात धुने, काँचो मासु नखाने, जनावरसँग काम गर्नुपर्दा मास्क, पञ्जा जस्ता सुरक्षित कपडा लगाएर गर्नुपर्ने उहाँ बताउनुहुन्छ । यस्तै दोस्रो श्वासप्रश्वासबाट रोग सर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिन्छ । यो मौसममा विवाह, व्रतबन्ध, धान्याञ्चल जस्ता सार्वजनिक कार्यक्रमहरु बढी हुने भएकाले यस्ता कार्यक्रममा कम सहभागी हुन र हुनैपर्दा सावधानी अपनाउन अधिकारीले सुझाव दिनुभयो ।

तेस्रोमा कानूनी रुपमा सरकारका तर्फबाट उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । चिनियाँ पर्यटकदेखि त्यहाँ रहेका नेपाली विद्यार्थी धेरै भएकाले तिनको आवतजावत हुँदा अन्तरदेशीय समन्वय गरी स्वास्थ्य परीक्षण गर्नुपर्ने अधिकारीको तर्क छ । अन्तर्राष्ट्रिय विमानस्थल र चीनको नाकामा स्वास्थ्य डेस्क राखेर परीक्षण गर्न उहाँले सुझाव दिनुभयो ।

नेपालमा पशु र पक्षी पालनमा कार्यरत हुनेहरुले स्वास्थ्यको ख्याल नगर्ने गरेको बताउँदै उहाँले त्यस्ता कामदारहरुले उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो । यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो ।

नेपालमा यतिबेला जाडो मौसम भएकाले रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकि कोरोना भाइरसले सङ्क्रमण गरिसकेपछिको शुरुआती लक्षण पनि रुघाखोकी नै हो । अधिकारीका अनुसार त्यसपछि क्रमशः उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्दछ । समयमा उपचार हुन नसकेमा निमोनिया भई यसबाट मृत्युसमेत हुने गर्दछ ।

अन्य भाइरसमा फोक्सोले काम गर्न छाड्दै जाने भए पनि कोरोनाको सङ्क्रमणमा छिटो मिर्गौला फेल हुने र कलेजोमा बढी असर गर्ने उहाँले बताउनुभयो । रुघाखोकीको सामान्य उपचारबाट निको नभएमा स्वाब (र्‍याल, सिङ्गान) परीक्षण गर्न सुझाव दिँदै उहाँले कोरोनाको लक्षण देखिएमा तत्काल चिकित्सकको सुझावअनुसार औषधि उपचार गर्नुपर्ने बताउनुभयो ।

 उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (हेल्थ डेस्क) स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा उक्त भाइरसको सङ्क्रमणको अनुमान गर्न निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नेपाल आउने हवाईजहाजहरु अवतरण गर्नुपूर्व यात्रुहरुलाई हेल्थ डेस्कमा गई आधारभूत जाँच गराउने व्यवस्था गर्न तथा विश्व स्वास्थ्य सङ्गठनले तोकिदिएको मापदण्डबमोजिम अवतरणको समयमा जहाजलाई सङ्क्रमणबाट बचाउने व्यवस्था गर्न निर्देशन दिइएको छ । त्यस्तै विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नसमेत निर्देशन दिइएको छ ।

होटल, ट्राभल तथा ट्रेकिङ एजेन्सीलाई पर्यटकमा भाइरसको कुनै पनि लक्षण देखिएमा यथाशीघ्र तोकिएको स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थाले उक्त भाइरसबारे अवलम्बन गर्नुपर्ने सजगता एवं पूर्वसावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गराउने, कुनै पनि स्वास्थ्यसम्बन्धी उल्लिखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवं गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने दिर्नेशन दिइएको हो ।

नेपालमा स्थलमार्गबाट पर्यटक प्रवेश गर्ने स्थान रसुवा, यारी नाकालगायत उत्तरी सीमा नाकाहरु समेतमा उल्लिखित सतर्कता र पूर्वसावधानीहरु अपनाउने, भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल ‘आइसोलेसन’मा राख्नुपर्ने भएकाले यस सम्बन्धमा सबैले पूर्वसावधानी एवं सजगताका साथ कार्य गर्ने निर्देशन दिइएको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

त्यस्तै चिनियाँ पर्यटकको बढी उपस्थिति हुने काठमाडाँै, पोखरा, चितवन र लुम्बिनी जस्ता स्थानहरुमा विशेष पूर्वसावधानी अवलम्बन गर्न, कोरोना भाइरसबाट बच्न र बचाउन जनचेतना वृद्धि गर्न, मानिसको धेरै आवतजावत हुने धार्मिक, सांस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचारप्रसार कार्य सञ्चालन गर्ने निर्देशन दिइएको छ ।

कोरोना भाइरससम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेका पोस्टर, पम्प्लेट, सूचनामूलक अन्य प्रचार सामग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटल तथा ट्राभल र ट्रेकिङ कम्पनीका कार्यस्थलमा पर्यटकले देख्ने गरी राख्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्