देउवा पुग्दा सानेपामा कार्यकताबीच मुक्का हानाहान, दुई जना घाइते



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेससँग सम्वद्ध नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ को एक समूहले नेतृत्वका लागि उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन सुरु गरेपछि दुई पक्षबीच झडप भएको छ।पार्टीको केन्द्रीय समितिको बैठकका लागि पार्टी सभापति देउवा सानेपा पुग्नेवित्तिकै झडप भएको हो। झडपमा परी दुई जना विद्यार्थी घाइते भएका छन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय समितिको बैठक बस्‍नुअघि नै पूर्वमहामन्‍त्री कुन्दन काफ्लेसहितको समूह आमरण अनसनमा बसेपछि अर्को समूहले उनीहरुलाई हातपात गरेको थियो। दुई पक्षबीच केही झडप भएको थियो।

काफ्ले समूहबाट पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी अनसनमा बसेका छन्। नेविसंघको नेतृत्वका लागि ३२ वर्षको उमेर हद तोकिनुपर्ने माग राखेका छन्। यही माग राखेर काफ्लेसहितको समूहले डेढ महिनादेखि कांग्रेस कार्यलयमा धर्ना दिँदै आएका छन्। काफ्लेले अनसनमा बस्‍नेहरूमाथि हातपात भएपछि तनाव भएको बताए। कांग्रेसको आन्तरिक विवाद मिलेपछि सोमबार बस्‍न लागेको केन्द्रीय समितिको बैठकलाई दबाब दिन उनी अनसनमा बसेका हुन्। संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच भएको सहमतिमा नेविसंघको पदाधिकारी र केन्द्रीय समितिमा साठी –चालिसको अनुपातमा भागबन्डा गर्ने सहमति भए पनि उमेरको हदबन्दीबारे केही भनिएको छैन।

गत वर्ष असोज २१ गतेको कांग्रेस केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेरहदसहित नेविसंघको विधान पारित गरेको थियो । त्यतिबेला बहुमतको आडमा एकलौटी रुपमा विधान पारित गरेको भन्दै असन्तुष्ट पक्षले विरोध गर्‍यो र नोट अफ डिसेन्टसमेत लेख्यो। तर दुवै पक्षको पोजिसन पछिल्लो समय फेरि यु टर्न भएको छ। असन्तुष्ट पक्ष विधानमा तोकिए अनुसार ३२ वर्ष मुनिकै उमेर समूहबाट तदर्थ नेतृत्व छानेर महाधिवेशनमा जानुपर्ने दबाब दिइरहेको छ भने देउवा पक्ष उमेर हदलाई वास्ता नगर्दै उमेर ढल्किसकेका पात्रलाई नेविसंघ जिम्मा लगाउने रणनीतिमा छ।

संस्थापन पक्षले ५० वर्ष हाराहारीका राजीव ढुंगानाको नाम अघि सारेपछि विवादले जटिल रुप लिएको हो। १२ औँ महाधिवेशनबाट लागु हुने गरी नेविसंघको विधानमा ३२ वर्ष उमेर हदबन्दी तोकेको छ।तरुण दलमा समेत ४५ वर्षको उमेर हद तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्