तीनतिरको तानातानमा एउटा सभागृह



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा ४ मा लामो समयदेखि निर्माणाधीन शहीद बासुदेव सभागृह नभत्काउन आग्रह गरिएको छ । बागमती प्रदेशसभाको बैठकमा सांंसद् रिता माझीले सभागृह र त्यससँगै रहेको पूर्वराजा वीरेन्द्रको शालिक नभत्काउन आग्रह गर्नुभएको हो ।

सांंसद् माझीले सभागृह र शालिक भत्काउने कार्यमा प्रदेश सरकार पनि संलग्न रहेको र प्रोत्साहन गरिरहेको आरोप लगाउँदै निर्णय फिर्ता लिन आग्रह गर्नुभयो । सांसद् माझीले सभागृह भत्काएर भ्युटावर बनाउनु आवश्यक नरहेको भन्दै भ्युटावर आवश्यक भए हेटौंडाका विभिन्न महत्वपूर्ण ठाउँमा निर्माण गर्न सुझाव दिनुभयो ।

उक्त स्थानमा भ्युटावर बनाउने भन्दै हेटौंडा उपमहानगरपालिकाले निर्णय गरेको थियो । करिब १ बिगाहा क्षेत्रमा बन्ने भ्युटावरका लागि उपमहानगरले २ करोड छुट्याएको छ ।

सभागृहलाई प्रदेशसभा भवनका रुपमा निर्माण गर्न प्रदेश सरकारले अग्रसरता देखाएको छ । प्रदेशको राजधानी भएपछि उपयुक्त प्रदेशसभा भवन नहुँदा समस्या भएको सन्दर्भमा प्रदेश सरकारले पनि अग्रसरता देखाएको हो ।
सभागृह निर्माणमा अग्रसर हुँदै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सभागृहको निरीक्षणसमेत गर्नुभएको थियो । चालु आर्थिक वर्षभित्र सभागृहलाई प्रदेशसभा बैठक बस्न मिल्ने गरी निर्माण सम्पन्न गर्ने तयारी छ । प्रदेश सरकारले यसका लागि दुई करोड रुपियाँ विनियोजन गरेको छ ।

सभागृहका लागि २०६३ मा निर्माण सुरु भएर तीन वर्षसम्म लगातार स्थानीय विकास मन्त्रालयको जगेडाकोषको एक करोड ३० लाख खर्च गरिएको थियो । त्यसपछि सभागृह निर्माणको काम अघि बढ्न सकेन । त्यसैले सभागृहलाई सुधारसाथ अघि बढाउन तत्कालीन समयमा करिब चार करोड ३५ लाख लाग्ने नगरपालिकाले अनुमान गरेको थियो ।

‘हाल भएका संरचनामा जति खर्च गरे पनि प्रयोग गर्न नसकिने देखिएका कारण भत्काएर वहुवर्षे योजनाअन्तर्गत् साततले कमर्सियल भ्युटावर निर्माण सुरु गर्न लागिएको हो,’ हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले उपमहानगरपालिकालाई आन्तरिक आयस्रोतको विकास गर्न परियोजना अगाडि बढाउन लागिएको बताउनुभयो ।

स्थानीय विकास मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति र हेटौंडा नगरपालिकाको संयुक्त लगानीले सभागृह निर्माण थालिएको थियो । सभागृह प्रयोगमा नआउँदै हेटौंडा नगर कार्यपालिका बैठकले भत्काउने निर्णय गर्दै उक्त स्थानमा कमर्सियल भ्युटावर बनाउने योजना ल्याएको थियो ।

हेटौंडामा ठूला कार्यक्रम, गोष्ठी र सभा÷सम्मेलन गर्न हलको अभाव खड्किएको बेला सभागृह निर्माणले अभाव हट्ने विश्वास गरिए पनि पूर्णरुपमा सञ्चालन आउन नसक्दा समस्या भएको छ । उक्त सभागृह निर्माण पूरा नहुँदै नगरपालिका र प्रदेश सरकारबीच तानातानको अबस्था देखिएको छ ।

सभागृहमा नगरपालिकामार्फत् पहिलो चरण २०६३ सालमा ५० लाख, २०६४ सालमा ५० लाख र २०६५ लाखमा ३० लाख लगानी गरिएको थियो । सभागृहका लागि टेण्डर आह्वान गरिए पनि व्यबसायीले प्रक्रिया नपु¥याएर ठेक्का हालेकोले सभागृहको काम सम्पन्न गर्ने योजना अधुरो बनेको थियो ।

नगरपालिकाले प्रस्तावित योजनामा सभागृह बाहिर सुन्दर बगैंचा, पानीका फोहरा, व्यबस्थित पार्किङस्थल र शौचालय रहने बताएको छ । भवनको बाहिरी भाग पनि आकर्षक रंगरोगन, बुट्टा कुँदेर सुन्दर बनाउने योजना छ ।

सभागृह भत्काउन हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका बैठकले निर्णय गरे पनि पूर्वउपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले भत्काउने नदिने बताउनुभएको छ । तत्कालीन सरकारका स्थानीय विकास मन्त्री रहनुभएका थापाकै पहलमा सभागृह निर्माणका लागि बजेट बिनियोजन भएको थियो ।

थापाकै पहलमा २०६३ सालमा निर्माण सुरु भएको सभागृहको नाम ज्ञानेन्द्र सभागृह राखिएको थियो । जनआन्दोलनपछि मकवानपुरका शहीद बासुदेव घिमिरेको नाममा नामाकरण गरिएको थियो ।

अध्यक्ष थापाले आफ्नै पालामा राजा ज्ञानेन्द्रको नामबाट सञ्चालित सभागृह पछि मकवानपुरे शहीद बासुदेवको नाममा परिणत भएको बताउँदै सभागृह र नजिक रहेको राजा वीरेन्द्रको शालिक भत्काउने निर्णयप्रति आपत्ति रहेको बताउनुभयो । ‘दुई तिहाइको सरकारमा विचित्रको रहर जागेकोले बिनाकाम भ्युटावर निर्माण गर्ने भनिरहेको छ,’ उहाँले आरोप लगाउनुभयो ।

‘सभाहल भत्काएर भ्युटावर बनाउने हैन, बरु हुप्रचौरलाई अतिक्रमण गरी बनाइएका सम्पूर्ण संरचना भत्काएर खुला हुप्रचौर निर्माण गरौं,’ मकवानपुर जागरण अभियान अध्यक्ष कृष्णराज कोइरालाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्