पिज्जामा थुक्नेलाई १८ वर्षको जेल



अंकारा, (एजेन्सी)।

टर्कीमा ग्राहकले अर्डर गरेको खाना पुर्याउने एक केटालाई ग्राहकसम्म पिजा पुर्याउनुअगाडि त्यसमा थुकेको आरोपमा १८ वर्षको जेल सजाय हुन सक्ने जनाइएको छ।

अदालतले यसै हप्ता सजाय सुनाउन सक्ने सञ्चार माध्यमहरुले जनाएका छन्। उनीविरुद्ध ग्राहकको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप छ। स्थानीयले विगत तीन वर्षदेखि उनलाई कडा सजाय दिन माग गरिरहेका थिए।

यो सन् २०१७ डिसेम्बर २४ को घटना हो। एस्किसिरमा एक ग्राहकको अपार्टमेन्टमा जडित सीसीटीभीमा ती डेलिभरी बोयको तस्विर कैद भएको थिो। यसमा उसले पहिला पिज्जामा थुकेको थियो। फेरी मोबाइलबाट त्यसको भिडियो खिचेको थियो।

ऊ यस्तो किन गर्छ, यस विषयमा खुलासा भएको छैन।भिडियो फुटेजका आधारमा आरोपीको पहिचान बुरक एसका रूपमा भएको छ। उक्त भवनका मालिकले फुटेज हेरेपछि अनलाईन खाना मगाउने ग्राहकहरुलाई सतर्क गरे।

फुड कम्पनीका डेलिभरी गर्ने कर्मचारीमाथि पहिला पनि यस प्रकारका कयौं आरोप लाग्ने गरेको छ।यसअघि एक आरोपीमाथि ग्राहकको स्वास्थ्यमा खतरा पुर्याएको आरोपमा करिब ५ सय डलर जरिवाना तिराएको थियो।

टर्कीको कानुनअनुसार दोषीलाई १५ वर्षको जेल सजाय उसले गरेको अपराधका लागि र ३ वर्ष ग्राहकको स्वास्थ्यलाई क्षति पुर्याएकोमा थप सजाय हुन सक्छ।

आरोपी पक्षका वकिलले सजाय सुनाइए पनि अपिलका लागि समय पनि दिनुपर्ने अदालतसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्