मञ्चविहीनको मञ्चमा मानव बेचबिखनविरुद्ध शब्द संसार



काठमाडौं, (नेस)।

मञ्चविहीनको मञ्चको आयोजनामा भएको साहित्यिक कार्यक्रम शब्द संसार सम्पन्न भएको छ। वरिष्ठ पत्रकार एवं सम्पादक मानव बेचबिखनविरूद्ध कलम चलाई मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारसमेत प्राप्त गरेका टंक पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १० वटा रोचक कविता वाचन गरिएको थियो।

प्रमुख अतिथि टंक पन्तले कार्यक्रममा आएको रचनाबारे विश्लेषण गर्दै भन्नुभयो– ‘मानव बेचबिखन र त्यसको प्रारूपबारे आएको सबै रचना प्रशंसायोग्य छ, यस्तो अनौठो साहित्यको कार्यक्रम जसले मञ्च पाउँदैन उसैलाई मञ्च दिने कार्यक्रम गरेकामा आयोजकलाई शुभकामना छ।’

महिला अधिकारकर्मी सुनिता दनुवारले सुनिता फाउन्डेसनलाई आयोजकले रोजेर चेलीको दुःखसुखमा रचनामार्फत सहभागी गराएकोमा आभार प्रकट गर्नुभयो। उहाँले भन्नुभयो– ‘मैले पनि कविता जीवनमा पहिलो पल्ट सुनाएँ, मज्जा लागिरहेको छ।’

अतिथि साहित्यकार एमजे झाले कवितात्मक शुभकामना दिनुभएको थियो।कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष एवं कार्यक्रमका संरक्षक कमल ढकालले साहित्य अक्षर मात्र हैन जीवन हो र त्यसले समयको आवाज झल्काउने भएकाले आजको दिन नेपाली साहित्यका लागि पनि विशेष दिन भएको बताउनुभयो।

प्रत्येक अंकमा १० जना मञ्चविहीनको रचना सुनाउने र त्यसलाई परिमार्जन गरी पुस्तक निकाल्ने आयोजकले बताएका छन्।कार्यक्रममा स्वस्तिका दनुवार, अनिल लामा, सपना पौडेल, निरज प्याकुरेल, अुनष्का थापा, पुजा भुसाल, विमला रायमाझी, सिर्जना दनुवार, सिर्जना शर्माले मानव बेचबिखन बारे, महिला पुरुष भेदभावबारे, वैदेशिक रोजगारले ल्याएको बिचल्लीबारे गीत, गजल, कविता, मुक्तक र निबन्ध प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्