कामपाका मेयर शाक्य सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई वर्तमान तथा भूतपूर्व जीवित गणेश, भैरव संरक्षण समितिले सम्मान गरेको छ।
महानगरको २१ त वहा, लगंमा आयोजित कार्यक्रममा प्रमुख शाक्यलाई सम्मान गरिएको हो।

जीवन्त र राजकीय संस्कृतिका रूपमा मनाइने येँया (इन्द्रजात्रा) पर्वमा विशेष पूजा आराधना गरिने जीवित देवीदेवतामध्ये गणेश र भैरवका रूपमा रहनुभएका पूर्वगणेश र भैरवको जीविकोपार्जनका लागि अभिभावकत्व लिनुभएकाले मेयर शाक्यलाई सम्मान गरिएको समितिले जनाएको छ।

कामपाले आर्थिक वर्ष २०७०/०७१ देखि पूर्वकुमारीलाई मासिक १० हजार र पूर्वगणेश तथा भैरवलाई मासिक ८/८ हजार रुपियाँका दरले भत्तासहित सम्मान गर्न थालिएको हो। स्थानीय तहमा जनप्रतिनिधिको आएपछि २०७५ सालबाट साविक रकमलाई बढाएर पूर्वकुमारीलाई १५ रुपियाँ र पूर्वगणेश तथा भैरवलाई मासिक १२ हजार रुपियाँ भत्ता प्रदान गर्न थालिएको छ।

सम्मानपछि कार्यक्रममा बोल्दै मेयर शाक्यले इन्द्रजात्राको दिगो व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा ५ करोड रुपियाँको अक्षय कोष स्थापना गरिसकेको जानकारी दिनुभयो।

कोषमा महानगरपालिकाले दुई करोड रुपियाँ राखेको छ। सो कोषमा सरकारका तर्फबाट १ करोड ५० लाख, प्रदेश सरकारका तर्फबाट १ करोड र गुठी संस्थानबाट ५० लाख रुपियाँ राखिएको छ।

कार्यक्रमा बोल्दै सांसद कृष्णगोपाल श्रेष्ठले धर्म, कला र संस्कृतिको स्थायित्वका लागि महानगरले अघि सारेका योजनाको प्रशंसा गर्नुभयो। सांसद बिना श्रेष्ठले वर्तमान तथा पूर्वकुमारी, भैरव र गणेशलाई महानगरले प्रदान गरेको भत्ताले पर्वको निरन्तरतामा ठूलो सहयोग पुगेको धारणा राख्नुभयो।

‘मेयर शाक्यको नेतृत्वमा वडाभित्रका सम्पदा जोगाउने दिशामा धेरै काम भएका छन्।’ –कार्यक्रममा वडा २१ का अध्यक्ष उदयचूडामणि वज्राचार्यले बताउनुभयो।

जीवित देवीदेवताका तर्फबाट बोल्दै गणेश शाक्यले महानगरले प्रदान गरेको भत्तालेपूर्वजीवित देवीदेवतालाई मात्र होइन, नयाँ पुस्तामा पनि हौसला मिलेको बताउनुभयो।

सो अवसरमा हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका पूर्वप्रमुखहरू, गणेश भैरव खट व्यवस्थापन उप–समितिका सदस्य तथा इन्द्रजात्रामा सहयोग गर्ने विभिन्न व्यक्ति र संघसंस्थालाई समेत सम्मान गरिएको थियो।्

प्रतिक्रिया दिनुहोस्